काठमाडौँ, २४ कात्तिक । राष्ट्रिय परीक्षा बोर्डले आइतबार कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा सार्वजनिक गरेको छ।

बोर्डका अनुसार कुल १ लाख ४ हजार २६ जना परीक्षार्थीमध्ये ७६ हजार ३ सय ६७ जना विद्यार्थीले ग्रेड प्राप्त गर्न सफल भएका छन्। यो संख्या कुल परीक्षार्थीको ७३.४१ प्रतिशत हो।

गत असोज ७ र ८ गते सञ्चालन भएको उक्त परीक्षामा चार जना विद्यार्थीको परीक्षाफल रद्द गरिएको बोर्डले जनाएको छ।

यस्तै, नतिजाप्रति असन्तुष्ट विद्यार्थीले पुनर्योगका लागि आवेदन दिन सक्नेछन्। बोर्डका अनुसार प्रति विषय १ हजार रुपैयाँ दस्तुर तिरेर नतिजा प्रकाशन भएको मितिले १० दिनभित्र अनलाइनमार्फत पुनर्योग आवेदन दिन सकिनेछ।

बोर्डले विद्यार्थीहरूलाई तोकिएको समयसीमाभित्र आवेदन दिन आग्रह गरेको छ।