काठमाडौं, ३ साउन । जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न प्रदेशमा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान जारी गरेसँगै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशभर उच्च सतर्कता अपनाउन आह्वान गरेको छ । मनसुन प्रणाली थप सक्रिय भएकाले अचानक बाढी, पहिरो, नदी कटान, गेग्रान बहाव र डुबानको जोखिम उच्च रहेको भन्दै प्राधिकरणले पूर्वतयारी तीव्र पारेको हो।

विपद्को जोखिमलाई मध्यनजर गर्दै प्राधिकरणले झापा, इलाम, पाँचथर, कास्की, चितवन र सिन्धुपाल्चोकसहित देशका २४ जोखिमयुक्त जिल्लाहरूमा रातिको समयमा सवारी आवागमनमा रोक लगाउने निर्णय गरेको छ । परिस्थिति हेरी जुनसुकै बेला पनि राजमार्ग र सडक खण्डहरू बन्द हुन सक्ने प्राधिकरणले स्पष्ट पारेको छ । साथै, अत्यन्त जरुरी नभई घरबाहिर टाढा र विशेष गरी रातिको समयमा यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरिएको छ ।

सम्भावित जोखिमको प्रतिकार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसहित तीनवटै सुरक्षा निकाय, स्थानीय तह र स्वयंसेवकहरूलाई तयारी अवस्थामा (हाई अलर्ट) राखिएको छ । अवरुद्ध हुन सक्ने जोखिमयुक्त राजमार्ग र सडकहरू तत्काल खुलाउन विभिन्न स्थानमा डोजर, एक्साभेटर र लोडर जस्ता गह्रौँ उपकरणहरू तैनाथ गरिएको प्राधिकरणले जनाएको छ ।

जिल्ला सुरक्षा समिति र स्थानीय तहहरूलाई पूर्वसूचनाका आधारमा जोखिमयुक्त क्षेत्रमा रहेका बस्ती र घरपरिवारलाई विपद् आउनु अगावै सुरक्षित स्थानमा स्थानान्तरण (प्रि-इभाकुएसन) गर्न निर्देशन दिइएको छ । विशेष गरी नदी, खोला र खहरे किनाराका बस्ती तथा पहिरोको जोखिम रहेका भिरालो जमिन नजिक बस्ने बासिन्दाहरूलाई थप चनाखो र सतर्क रहन प्राधिकरणले विशेष अपिल गरेको छ ।