काठमाडौं । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत जलबीरे नजिक आइतबार बिहान दुई यात्रुवाहक बस एकापसमा ठोक्किँदा सडक अवरुद्ध भएको छ। दुर्घटनापछि सडकमा सवारी आवागमन प्रभावित भएको प्रहरीले जनाएको छ।
सडक डिभिजन कार्यालय चितवनका अनुसार दुर्घटनामा संलग्न बसहरूलाई हटाएर सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ। दुर्घटनामा केही यात्रु घाइते भएका छन् भने उनीहरूको संख्या र अवस्था खुल्न बाँकी रहेको छ।
प्रहरीका अनुसार दाङबाट काठमाडौं आउँदै गरेको लु।प्र। ०१–००१ ख ०५०५ नम्बरको बस र नारायणगढबाट काठमाडौं जाँदै गरेको बा।प्र। ०३–००१ ख १६७१ नम्बरको बस एकापसमा ठोक्किएका हुन्। साथै, काठमाडौंबाट नारायणगढतर्फ आउँदै गरेको अर्को सवारीसाधन पनि दुर्घटनामा परेको प्रारम्भिक जानकारी प्राप्त भए पनि त्यसको नम्बर खुलाइएको छैन।
दुर्घटनामा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको राजधानी एक्सप्रेस बसका चालक गम्भीर घाइते भएका छन्। अन्य घाइतेहरूको उपचारका लागि नजिकका स्वास्थ्य संस्थामा पठाइएको प्रहरीले जनाएको छ।
यसअघि लगातारको वर्षा र पहिरोको उच्च जोखिमका कारण जिल्ला प्रशासन कार्यालय चितवनले शनिबार राति १० बजेदेखि उक्त सडकखण्डमा रात्रिकालीन सवारी सञ्चालन बन्द गराएको थियो। सडक आइतबार बिहान ६ बजे मात्र सञ्चालनमा आएको थियो।
सडक खुलेलगत्तै सवारीसाधनले लेन अनुशासन पालना नगरी चलाउँदा दुर्घटना हुने र लामो जाम लाग्ने समस्या दोहोरिँदै आएको सडक डिभिजन कार्यालयले जनाएको छ। कार्यालयले चालकहरूलाई निर्धारित लेनको पालना गर्दै सीमित गतिमा सवारी चलाउन तथा वर्षायाममा थप सतर्कता अपनाउन आग्रह गरेको छ।














