सर्लाही । प्रेमिकासँग विवाह गराइदिनुपर्ने माग राख्दै सर्लाहीमा एक युवक नेपाल टेलिकमको अग्लो टावरमा चढेका छन् । आइतबार बिहान गोडैता नगरपालिका–९ बकैनियाका करिब २४ वर्षीय अफसर आलम हुसेन मलंगवा नगरपालिका–९ स्थित नेपाल टेलिकम कार्यालय परिसरभित्र रहेको करिब ८० मिटर अग्लो टावरमा चढेका हुन्।
टावरमा पुगेपछि हुसेनले आफ्ना एक साथीलाई फोन गरेर आफू माथि रहेको जानकारी दिएका थिए । त्यसपछि घटनाबारे प्रहरीलाई खबर पुगेको थियो । प्रहरीका अनुसार उनले आफ्नी प्रेमिकालाई घटनास्थलमा ल्याइदिन र उनीसँग विवाह गराइदिन माग गर्दै अन्यथा टावरबाट हामफाल्ने चेतावनी दिएका थिए ।
सूचना पाएपछि नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोली घटनास्थलमा पुगेको थियो। सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी वेदप्रसाद गौतमका अनुसार लामो समयसम्म सम्झाइ–बुझाइ गरेपछि हुसेनलाई सकुशल टावरबाट तल झारिएको हो।
प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा हुसेन सर्लाही क्याम्पसमा बीबीए अध्ययनरत रहेको र सोही क्याम्पसमा अध्ययन गर्ने एक युवतीसँग उनको प्रेम सम्बन्ध रहेको जानकारी दिएको छ। यद्यपि, घटनाको वास्तविक कारण र पृष्ठभूमिबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।














