बिर्तामोड । भरत भाबुक प्रसाई ,“मर्ने कसैलाई रहर हुँदैन, तर नमरेको प्रहर हुँदैन…” कवि क्षेत्रप्रताप अधिकारीका यी प्रसिद्ध पङ्क्तिहरू आज कुनै काव्यिक अभिव्यक्तिमा मात्र सीमित रहेनन्; यी शब्दहरू भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीको पीडादायी यथार्थ बनेर उभिएका छन्।

बाढीको निर्मम भेलले नदीका किनारहरू मात्र कटान गरेन, यसले मानिसका सपना, घर-परिवार, सम्झना र सिङ्गो जीवन नै बगाएर लग्यो।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विवरणले जनधनको अकल्पनीय क्षति र धेरै नागरिक अझै बेपत्ता रहेको देखाउँछ।

यी तथ्याङ्क केवल अङ्क मात्र होइनन्—हरेक अङ्कभित्र एउटा रित्तिएको काख, अधुरो सपना र कहिल्यै नफर्कने प्रियजनको बाटो हेरिरहेका परिवारका कथाहरू लुकेका छन्।

अकल्पनीय प्रहारबाट प्रभावित र ज्यान गुमाएकाहरूप्रति मानवीय संवेदना प्रकट गर्न झापाको बिर्तामोड–१ स्थित सिरीजङ्गा नचानु विष्णु चौतारा टोल विकास संस्थाले विशेष श्रद्धाञ्जली एवम् प्रार्थना सभाको आयोजना गरेको छ।

bf08c91d-fc10-4de2-ae4b-a42842d33dd9

विपद्मा ज्यान गुमाउने सम्पूर्ण मृत आत्माहरूको चिरशान्ति, शोकसन्तप्त परिवारमा धैर्यधारण गर्ने शक्ति र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै १०८ दीपप्रज्वलन गरिएको छ।

 कार्यक्रममा बालिएका १०८ दीपहरू केवल तेल र बातीको उज्यालो मात्र थिएनन्, ती त शोकमा डुबेका नागरिकहरूप्रतिको सामूहिक आँसु, करुणा र प्रार्थनाका प्रतीक थिए ।

 सन्तान र अभिभावक गुमाएका परिवारको पीडामा मलम लगाउने प्रयासस्वरूप दीप प्रज्वलित गरियो। 

बाढीपछि अझै सम्पर्कविहीन रहेका प्रियजनहरू सकुशल फर्किऊन् भन्ने आशाका साथ प्रार्थना गरियो। 


बाँचेका नागरिकहरूको जीवनमा पुनः उज्यालो फर्कियोस् र विस्थापितहरूले सुरक्षित आश्रय पाउने वातावरण बनोस् भन्ने कामना गरियो।

 बाढीले ठूला-ठूला सडक, पुल र भौतिक संरचनामा पुर्‍याएको क्षतिले हाम्रा विकास निर्माण र विपद् व्यवस्थापनको तयारीमाथि गम्भीर प्रश्न खडा गरेको छ।

यद्यपि, यो क्षण दोषारोपण र प्रश्नहरू भन्दा माथि उठेर जीवन र संवेदना सम्झने समय हो। प्रकृतिको विनाशलाई मानिसले पूर्ण रूपमा रोक्न नसके पनि पीडितको हात समात्न, आँसु पुछ्न र ‘हामी तिमीहरूसँगै छौँ’ भन्ने भरोसा दिलाउन भने अवश्य सक्छ।

275757577885


 कार्यक्रमको अन्त्यमा उपस्थित सम्पूर्ण स्थानीयवासी तथा आयोजकहरूले एकमिनेट आँखा बन्द गरी दिंवगत आत्माहरूको चिरशान्तिका लागि मौन प्रार्थना गरे।

बिर्तामोडमा प्रज्वलित यी १०८ दीपको उज्यालोले भोटेकोशी र त्रिशूलीका अँध्यारा किनारहरू सम्म पुगेर पीडित हृदयहरूमा मानवता, करुणा र आशाको सञ्चार गरोस् भन्ने कामना व्यक्त गरियो।

मृत आत्माहरूप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना।

ॐ शान्तिः शान्तिः शान्तिः।