पशुपतिनगर (इलाम), असार १० गते । नेपाली चिया भारत
निर्यातमा समस्या आएपछि बन्द भएका इलामको सूर्योदय नगरपालिकाको चिया उद्योग तीन
बुँदे सहमति भएपछि शुक्रबारबाट खुल्ने भएको छ ।
नेपाली चियालाई
भारतीय चिया बोर्डले लागू गरेको नयाँ मापदण्डका कारण निर्यात ठप्प भएपछि बन्द भएका
उद्योग सञ्चालन गर्न सूर्योदय नगरपालिकामा आज भएको छलफलपछि तीन बुँदे सहमति गरी
शुक्रबारबाट उद्योग सञ्चालन गरिने भएको हो ।
सूर्योदय नगरपालिका चिया समस्या समाधान समिति र सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसनबिच भारत निर्यात नहुँदा गोदाममा थन्किएको चिया भण्डारण गर्न लागि नगरपालिकाले भण्डारण कक्ष ब्यवस्थापन गर्ने, चिया सहज रुपमा निर्यात नहुन्जेल (केही महिना) किसानको भुक्तानी उद्योगले बाँकी राख्ने र चियाको गुणस्तर सुधारका लागि बिषादी पूर्णरुपमा प्रतिबन्द गरी गुणस्तर ब्यवस्थापन गर्ने सहमति भएपछि उद्योग सञ्चालन गर्ने सहमति भएको सूर्योदय नगरपालिका चिया समस्या समाधान समितिका संयोजक पेमा उगेन लामाले जानकारी दिनुभयो ।
भारतमा निर्यात ठप्प भएपछि सूर्योदय नगरपालिका भित्रका ५३ वटा चिया कारखाना बन्द भएका थिए ।
चिया
समस्या समाधान समितिका संयोजक लामा, सूर्योदयका कार्यबाहक नगर प्रमुख दुर्गाकुमार बराल, सूर्योदय
अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसनका कार्यबाहक अध्यक्ष ज्ञानु लिम्बुसहित
जनप्रतिनिधि र उद्योगीबिच लामो छलफल भएपछि किसानको चिया खेर जान नदिन उद्योग
सञ्चालन गर्ने सहमति भएको हो ।
नगरपालिकाले सूर्योदय नगरपालिकाभित्र रहेका उद्योगमा निर्यात नभइ थन्किएको करिव १० लाख किलोग्राम अर्थोडक्स चिया निर्यात सहज नहुन्जेलका लागि भण्डारण गर्ने ब्यवस्थित कक्षको ब्यवस्थापन गर्ने सहमति भएको छ ।
एक सिजनमा सूर्योदयमा उत्पादन भएको ३० लाख
किलोग्रामसम्म चियाको भण्डार कक्षको ब्यवस्था गर्न नगरपालिका तयार भएको छ ।
भण्डारण गरिएको
चियाको सुरक्षाका लागि समेत नगरले ब्यवस्था मिलाउने भएको छ । भण्डार कक्ष
ब्यवस्थापनका लागि सूर्योदय नगरपालिकाका आर्थिक बिकास समिति संयोजक देवेन्द्र
शर्माको संयोजकत्वमा उद्योगीसहितको समिति बनाइएको छ ।
उक्त समितिले एक
साताभित्रमा भण्डार कक्ष ब्यवस्थापन गर्ने भएको छ । चिया निर्यात नहुँदा उद्योगीका
गोदाम भरिएपछि भण्डार कक्ष आवश्यक परेको चिया उद्योगी उत्तम प्रधानले जानकारी
दिनुभयो ।
त्यस्तै, बजार सहज भएर चिया
निर्यात नभएसम्म किसानको भुक्तानी गर्न उद्योगले नसक्ने भएपछि बजार सहज
नहुन्जेलसम्मका लागि किसानको भुक्तानी उद्योगीले नगर्ने सहमति भएको छ ।
यस्तै, बिषादी नियन्त्रण
गरी गुणस्तरीय चिया उत्पादन गर्न शुक्रबार बिहानैबाट सूर्योदय नगरपालिकाका १० वटै
वडामा नगरपालिका, चिया उद्योगी र किसान
बिच गुणस्तरीय चिया उत्पादनसम्बन्धी छलफल कार्यक्रम सञ्चालन गरिने भएको कार्यबाहक
नगर प्रमुख बरालले जानकारी दिनुभयो ।
कार्यबाहक नगर प्रमुख बरालले चियाको गुणस्तर कायम नभएसम्म निर्यातमा समस्या आइरहने भएकाले किसान सचेतना कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो ।
नगरपालिका र उद्योगीबिच
भएका सहमति र गुणस्तरीय चिया उत्पादन सचेतना कार्यक्रम सञ्चालन गरेपछि मात्र
उद्योग खोल्न उद्योगी तयार भएपछि नगरले तत्काल उक्त कार्यक्रम सञ्चालन गर्ने भएको
छ ।
लामो समय चिया उद्योग
बन्द हुँदा सूर्योदयका किसानले झापामा सीटिसी चिया उत्पादन गर्ने उद्योगलाई चिया
बेचिरहेका छन् । दैनिक सूर्योदयबाट ६० देखि ७० गाडीसम्म हरियो चिया झापा गइरहेको
पाइएको छ ।
कार्यबाहक नगर
प्रमुख बरालले भन्नुभयो, ‘तीनै तहका सरकारले
चिया निर्यातका बिषयमा पहल गरिरहेको अवस्थामा चिया किसान र उद्योगी पलायन हुन नदिन
हामीले उद्योग सञ्चालनको वातावरण बनाएका हौ ।’
संघीय सरकारले
समेत चिया क्षेत्रका समस्या समाधान गर्न उच्चस्तरीय समिति बनाएको छ । उक्त समिति
केही दिनभित्रै उद्योगको अवस्था बुझन इलाम आउने भएको छ ।
राजधानीमा चियाका
समस्या लिएर गएका उद्योगीलाई उक्त समितिले समेत सरकारले चिया निर्यातका बिकल्प
सरकारले खोज्ने र चिया उद्योग सञ्चालन गर्दै गर्नु भन्ने आश्वासन पाएपछि उद्योग
सञ्चालन गर्न उद्योगी सकारात्मक भएको पाइएको छ ।
सूर्योदय
अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसनका कार्यबाहक अध्यक्ष लिम्बुले लिम्बुले लामो
समय चिया उद्योग बन्द हुँदा उद्योगी र किसानलाई समेत असहज भएको बताउदै चिया
निर्यात सहज हुने अपेक्षासहित उद्योग सञ्चालनका लागि चिया उद्योगी तयार भएको
बताउनुभयो ।
चिया कारखाना बन्द
भएपछि किसान र मजदुर समेत समस्यामा परेका छन । इलामको सूर्योदय नगरपालिकामा रहेको
गोरखा चिया उद्योगको चिया भने तेस्रो देशमा निर्यात भइरहेको छ । इलाम नगरपालिका, माई नगरपालिकासहित
इलाम र झापाका चिया उद्योग बन्द भएका छन् ।
सूर्योदय टी प्रोड्युसर्स एसोसिएसनका अनुसार भारतको डिल्ली, कोलकोत्ता र सिलिगुडी पुगेको दुई लाख ५० हजार किलोग्राम नेपाली चिया परीक्षणको बहानामा थन्किएको छ ।
भारतीय चिया बोर्डले मे १ देखि लागू
गरेको ‘स्ट्याण्डर्ड
अपरेटिभ प्रोसिड्सुर’ (एसओपी) मा
नेपालबाट निर्यात हुने प्रत्येक पटकको चियाको गुणस्तर अनिवार्य परीक्षण गर्नुपर्ने
ब्यवस्था भएपछि चिया निर्यातमा समस्या आएको थियो ।
परीक्षण प्रतिवेदन
आउन १५ दिन कुर्नु पर्ने र प्रतिवेदन नआएसम्म चिया बिक्री गर्न नपाइने तथा परीक्षण
रिर्पोट आउँदा गुणस्तर कम र बिषादीको मात्रा भेटिए चिया नष्ट गर्नुपर्ने नियमले
उद्योगी संकटमा परेको पाइएको छ ।
नयाँ ब्यवस्थाअनुसार
नेपाली चिया भारत निर्यात गर्दा अहिले प्रत्येक पटक प्रत्येक गाडीको अनिवार्य
प्रयोगशाला परीक्षण(ल्याव टेष्ट) पर्नु पर्ने भएको छ । यसअघि एउटा सवारी साधनमा
लोड भएको चिया परीक्षण गर्दा १० वटा गाडीको चियालाई प्रवेश अनुमति दिइने गरिएको
थियो ।
प्रत्येक पटक र
प्रत्येक सवारीको नमुना परीक्षण लागि ११ हजार ५०० भारतीय रुपियाँ शुल्क लाग्ने र
परीक्षण रिर्पोट आउन १५ दिन बढी लाग्ने गरी झन्झटिलो प्रक्रिया भारतले थालेका कारण
नेपाली चिया निर्यातमा समस्या आएको चिया उद्योगी गोपाल कट्टेलले जानकारी दिनुभयो ।
नेपालले वार्षिक करिब १५ हजार छसय मेट्रिक टन चिया निर्यात गर्दैआएको छ । जसमध्ये ८६ प्रतिशत चिया भारतमै निर्यात हुनेगर्छ । नेपालमा चिया खेती झापा, इलाम, पाँचथर र धनकुटासहित ३१ जिल्लामा हुँदैआएको छ ।
यी जिल्लामा
उत्पादन हुने अर्गानिक तथा अर्थोडक्स चिया अन्तर्राष्ट्रिय बजारमा गुणस्तरका
हिसाबले परिचित मानिन्छ ।
नेपालमा बार्षिक दुई करोड ६१ लाख किलोग्राम तयारी चिया उत्पादन हुदैआएको छ ।
नेपालमा १५ हजार १३२
जना चिया कृषक र करिब ६० हजार मजदुर चिया खेतीमा आश्रित छन् । भन्सार विभागको
पछिल्लो तथ्याङ्कअनुसार आ.व. २०८१–८२ मा १ करोड ५६ लाख केजी चिया निर्यात गरेर नेपालले ४ अर्ब ५९ करोड
रुपियाँ वैदेशिक मुद्रा आर्जन गरेको थियो ।











