बिर्तामोड। भरत प्रसाई , झापाको बिर्तामोड–२ स्थित निदि अङ्ग्रेजी माध्यमिक विद्यालयमा गठन भएको निदि बाल क्लबको नयाँ कार्यसमितिले एक विशेष कार्यक्रमका बीच पद तथा गोपनीयताको सपथ ग्रहण गरेको छ।
बालबालिकामा नेतृत्व विकास, सामाजिक उत्तरदायित्व र रचनात्मक क्षमताको अभिवृद्धि गर्ने उद्देश्यले गठित क्लबको अध्यक्षमा रितिका शाह निर्वाचित हुनुभएको हो।

निदि बाल क्लबका निवर्तमान अध्यक्ष प्रियंसु ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बालबालिका तथा सञ्चार मञ्च झापाका अध्यक्ष तथा पत्रकार सरोज पौडेल प्रमुख अतिथिका रूपमा उपस्थित हुनुभएको थियो भने माेफसल अनलाइनका सम्पादक भरत प्रसाईको विशिष्ट आतिथ्यता रहेको थियो।
कार्यक्रममा क्लबका सचिव त्रिविन सुवेदीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने विद्यालयका प्रधानाध्यापक भीष्म प्रसाईले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै बालबालिकाको नेतृत्व क्षमता विकास, अनुशासन, जिम्मेवारीबोध तथा सामाजिक चेतनाको अभिवृद्धिका लागि बाल क्लब महत्वपूर्ण माध्यम भएको बताउनुभयो।

उहाँले विद्यालयले विगतदेखि नै बालबालिकालाई अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता गराउँदै आएको उल्लेख गर्दै सार्वजनिक वक्तृत्वकला, रचनात्मक लेखन, सामाजिक अभियान, सरसफाइ कार्यक्रम, विविध दिवस मनाउने गतिविधि तथा बौद्धिक प्रतियोगितामार्फत विद्यार्थीको सर्वाङ्गीण विकासमा जोड दिँदै आएको बताउनुभयो।
आगामी दिनमा पनि बालबालिकाको प्रतिभा प्रस्फुटनका लागि थप सिर्जनात्मक कार्यक्रम सञ्चालन गरिने उहाँको भनाइ थियो।
निदि बाल क्लबको शैक्षिक सत्र २०८३ का लागि वरिष्ठ उपाध्यक्षमा अंश सुवेदी, उपाध्यक्षमा करिस्ता चापागाईं, सचिवमा मनिता भट्टराई, सहसचिवमा सुलभ आचार्य तथा कोषाध्यक्षमा अभियान थापा चयन हुनुभएको छ।

त्यसैगरी सदस्यहरूमा आयुष हजाम, अंशु लिम्बु, आरएन काफ्ले, हङ्सिका चौधरी, श्रीजेश शिवाकोटी, श्रीनवी प्रसाई, सम्राट सापकोटा र आरोसी चिमरिया चयन हुनुभएको छ।
विद्यालयका शिक्षक घनश्याम पौडेल बाल क्लबको फोकल पर्सनका रूपमा चयन हुनुभएको छ।
उहाँले बालबालिकाको चौतर्फी विकासका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै बोल्ने कला, नेतृत्व विकास तथा सामाजिक अनुशासनसम्बन्धी अभ्यासमा विशेष जोड दिने बताउनुभयो।
बालबालिका समाज रूपान्तरणका संवाहक भएकाले उनीहरूलाई सक्षम र जिम्मेवार बनाउनु नै समृद्ध समाज निर्माणको आधार भएको उहाँको धारणा थियो।
कार्यक्रममा निवर्तमान कार्यसमितिका तर्फबाट अध्यक्ष प्रियंसु ढकाल र नवनिर्वाचित कार्यसमितिका तर्फबाट अध्यक्ष रितिका शाह तथा सचिव मनिता भट्टराईले माइन्युट हस्तान्तरण गर्दै औपचारिक रूपमा पद हस्तान्तरण समेत गर्नुभएको थियो।
प्रमुख अतिथि सरोज पौडेल र प्रधानाध्यापक भीष्म प्रसाईले संयुक्त रूपमा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई खादा, माला तथा दोसल्ला ओढाएर बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो।
प्रमुख अतिथि पौडेलले नेतृत्व प्राप्त गर्नु मात्र ठूलो कुरा नभई सबैलाई समेटेर जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्नु नै नेतृत्वको वास्तविक परीक्षा भएको बताउनुभयो।
उहाँले बाल क्लब केही व्यक्तिमा सीमित नहुने भन्दै विद्यालयका सम्पूर्ण विद्यार्थी नै बाल क्लबका प्रतिनिधि भएकाले क्लबका गतिविधिमा सक्रिय चासो, सहभागिता र खबरदारी आवश्यक रहेको उल्लेख गर्नुभयो। प्रश्न गर्ने, सुझाव दिने र जिम्मेवारीबोध गर्ने संस्कार विद्यार्थीमा विकास हुनुपर्नेमा उहाँले जोड दिनुभयो।
बिर्तामोड नगरपालिकाभित्र रहेका ७५ विद्यालयमध्ये उत्कृष्ट बाल क्लबलाई ११ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने जानकारी दिँदै पौडेलले निधि बाल क्लबले अन्य क्लबभन्दा फरक, सिर्जनात्मक र उदाहरणीय गतिविधि सञ्चालन गरी सबैको ध्यान आकर्षित गर्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रमका अवसरमा नवनिर्वाचित कार्यसमितिका सदस्यहरूलाई बाल क्लबको आधिकारिक टिसर्ट समेत वितरण गरिएको थियो।
नवनिर्वाचित अध्यक्ष रितिका शाहले आफूलाई विश्वास गरेर नेतृत्वको जिम्मेवारी सुम्पिएकोमा सम्पूर्ण विद्यार्थी, शिक्षक, निवर्तमान कार्यसमिति तथा विद्यालय परिवारप्रति आभार व्यक्त गर्दै बालबालिकाको हकअधिकार, व्यक्तित्व विकास र बौद्धिक क्षमताको अभिवृद्धिका लागि प्रभावकारी कार्यक्रम अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
विद्यालय परिसरमा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षक तथा फोकल पर्सन घनश्याम पौडेलले गर्नुभएको थियो।
बालबालिकाको नेतृत्व, सिर्जनशीलता र सामाजिक उत्तरदायित्व विकास गर्ने साझा मञ्चका रूपमा निधि बाल क्लबलाई स्थापित गर्ने लक्ष्यसहित नयाँ कार्यसमितिले आफ्नो कार्यकाल सुरु गरेको छ।














