बिर्तामोड, झापा — बालबालिकाभित्र रहेको अन्तर्निहित प्रतिभाको विकास र नेपाली मौलिक संस्कार–संस्कृतिको पहिचान गराउने मुख्य ध्येयका साथ झापाको बिर्तामोड नगरपालिका वडा नं. २ मा विद्यालय स्तरीय रङ्गोली प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ।
उज्यालो बाल क्लबको आयोजना तथा वडा कार्यालयको विशेष सहयोगमा आयोजित यस कार्यक्रमले दीपावलीको संघारमा सिंगो वडाको वातावरणलाई अत्यन्तै उल्लासमय र रङ्गीचङ्गी बनाएको थियो।
उज्यालो बाल क्लबकी अध्यक्ष हंशिका चौधरीको सभापतित्वमा सम्पन्न यस कार्यक्रममा बिर्तासमोड नगरपालिका वडा नं. २ का वडाध्यक्ष तथा उज्यालो बाल क्लबका संरक्षक किशोरकुमार पौडेलको प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रमको औपचारिक रूपमा उद्घाटन प्रमुख अतिथि वडाध्यक्ष पौडेलले पानसमा दीप प्रज्वलन तथा ब्यानर वाचन गरेर गर्नुभएको थियो। दीपावली पर्वको उल्लासलाई अझ गहिरो बनाउँदै बालबालिकामा छिपेको सिर्जनशीलता बाहिर ल्याउने यो एक अत्यन्तै प्रशंसनीय पहल साबित भएको छ।

कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै बालबालिका सञ्चार मञ्चका अध्यक्ष तथा शिक्षाकर्मी सरोज पौडेलले बालबालिकाको व्यक्तित्व विकास, नेतृत्व क्षमता र प्रतिभालाई निखार्न यस्ता सृजनशील गतिविधिहरू निरन्तर भइरहनुपर्नेमा जोड दिनुभयो। उहाँले बालबालिकामा नेतृत्व लिने क्षमताको विकास गर्न विद्यालय स्तरबाटै यस्ता अभ्यास गराउनु पर्ने बताउँदै बिर्तामोड वडा नं. २ ले बालबालिकाको प्रतिभा प्रस्फुटन गराउने अभियानमा सधैँ अभिभावकीय भूमिका निर्वाह गर्दै आएकोमा वडाध्यक्षलगायत टिमलाई धन्यवाद ज्ञापन गर्नुभयो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा वडाध्यक्ष किशोरकुमार पौडेलले आज बालबालिकामा गरिएको लगानीले नै भोलिको सुनौलो भविष्यको निर्धारण गर्ने बताए। उनले बालबालिकाको सर्वाङ्गीण विकासका लागि वडा कार्यालयले सधैँ युवा र बाल क्लहरूलाई रचनात्मक कार्यमा साथ दिने प्रतिबद्धता व्यक्त गरे।
बिर्तामोड–२ भूगोलभित्र सञ्चालित सामुदायिक तथा निजी गरी कुल सातवटा विद्यालयहरूमध्ये यस प्रतियोगितामा पाँचवटा विद्यालयका विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो। जसमा बालकल्याण माध्यमिक विद्यालय, पञ्चरत्न प्रावि, देवकुल माध्यमिक विद्यालय, निदि माध्यमिक विद्यालय र साङ्गवेद संस्कृत माविका विद्यार्थीहरूले आ–आफ्नो कला, सिर्जनशीलता र दक्षता प्रस्तुत गरेका थिए।
फरक–फरक विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरूले आफ्नै मौलिक कला र विचार मिसाएर अत्यन्तै आकर्षक रङ्गोलीहरू तयार पार्दा सम्पूर्ण कार्यक्रमस्थल बेग्लै रौनताले झिलिमिली बनेको थियो। उपस्थित अतिथि, शिक्षक तथा अभिभावकहरूले बालबालिकाले बनाएका कलाकृतिहरूको खुलेर प्रशंसा गरेका थिए।
कार्यक्रममा वडा सचिव हिमा पोख्रेल, कार्यपालिका सदस्य शर्मिला राजवंशी, वडा सदस्य ओमनाथ गौतम, मोफसल अनलाइनका सम्पादक भरत प्रसाई, बालबालिका सञ्चार मञ्चका अध्यक्ष सरोज पौडेललगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, बुद्धिजजीवी तथा शिक्षाप्रेमीहरूको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथि तथा विद्यार्थीहरूलाई समृद्धि खड्काले शब्दद्वारा स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् भने उज्यालो बाल क्लबका सम्पूर्ण पदाधिकारीहरूले कार्यक्रमलाई सफल बनाउन उत्कृष्ट व्यवस्थापकीय भूमिका निर्वाह गरेका थिए।
वडा नम्बर २ भित्र पर्ने सातवटा विद्यालयबाट दुई–दुई जना प्रतिनिधि छनोट गरी गठन गरिएको १५ सदस्यीय कार्यसमिति रहेको उज्यालो बाल क्लबले बालबालिकालाई संस्कार, संस्कृति र नेतृत्व विकाससँग जोड्ने उद्देश्यले विभिन्न रचनात्मक कार्यक्रमहरू नियमित रूपमा आयोजना गर्दै आएको छ।
कार्यक्रमको अन्त्यमा प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्ने प्रथम र द्वितीय विद्यालय तथा विद्यार्थीहरूलाई मेडल, प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो भने सहभागिता जनाउने अन्य सम्पूर्ण विद्यालयहरूलाई पनि विशेष सान्त्वना सम्मान प्रदान गरिएको थियो।
यस प्रकारका रचनात्मक कार्यक्रमहरूले बालबालिकाको चौतर्फी विकासमा महत्त्वपूर्ण इँटा थप्ने विश्वास गरिएको छ।














