दुर्गा प्रसाईं नेतृत्वको नेपाल पथ पार्टीले संगठन विस्तारलाई तीव्रता दिँदै सातै प्रदेशका प्रमुख, उपप्रमुख तथा विभिन्न विभागका पदाधिकारीको जिम्मेवारी बाँडफाँट गरेको छ ।

झापाको बिर्तामोडमा पार्टी अध्यक्ष प्रसाईंको अध्यक्षतामा दुई दिनसम्म चलेको प्रथम केन्द्रीय समिति बैठकले प्रदेश तथा विभागीय संरचना विस्तार गर्ने निर्णय गरेको हो । बैठकले आगामी मंसिर ७ गते झापाको दमकमा पार्टीको प्रथम घोषणा सभा आयोजना गर्ने निर्णयसमेत गरेको छ ।

बैठकको निर्णयअनुसार कोशी प्रदेश प्रमुखमा प्रेम थापा मगर, मधेशमा देवी संग्रौला, बागमतीमा दिलिपबहादुर बस्नेत, लुम्बिनीमा माधव कल्पित, गण्डकीमा ऋषि चापागाईं र सुदूरपश्चिममा मीना कँडेललाई जिम्मेवारी दिइएको छ ।

त्यसैगरी प्रदेश संगठनलाई व्यवस्थित बनाउन विभिन्न प्रदेशमा उपप्रमुखसमेत तोकिएका छन् । कोशीमा मधुकर सिटौलासहित तीन जना, मधेशमा नरेश साहसहित चार जना, बागमतीमा तेजिन्द्र रायमाझीसहित तीन जना, लुम्बिनीमा शंकर कोइरालासहित छ जना, गण्डकीमा रमेश मल्लसहित तीन जना र सुदूरपश्चिममा गणेश ताम्राकारलाई उपप्रमुखको जिम्मेवारी दिइएको पार्टीले जनाएको छ ।

पार्टीले संगठन विस्तारसँगै खेलकुद, महिला, सांस्कृतिक, नीति तथा प्रविधि, राजनीतिक प्रशिक्षण, वार्ता तथा संवाद, संगठन समन्वय, आर्थिक तथा वित्तीय पीडित न्याय, राष्ट्रिय सुरक्षा, यातायात, अनुशासन र कृषि विभाग गठन गरेको छ ।

खेलकुद विभाग प्रमुखमा डा। ओमकृष्ण प्रसाईं र महिला विभाग प्रमुखमा एनी कुँवर चयन भएका छन् । सांस्कृतिक विभागको प्रमुखमा दिनेश पाख्रिन, वार्ता तथा संवाद विभागको प्रमुखमा राजु आचार्य र आर्थिक तथा वित्तीय पीडित न्याय विभागको प्रमुखमा देवी संग्रौला चयन भएका छन् ।

त्यस्तै राष्ट्रिय सुरक्षा विभागमा दुरेन्द्र राई र दानबहादुर नेउपाने, यातायात विभागमा नारायणप्रसाद भट्टराई, अनुशासन विभागमा दिलिपबहादुर बस्नेत तथा कृषि विभागमा गणेशलाल डुम्रेलाई प्रमुखको जिम्मेवारी दिइएको छ । कृषि विभागको उपप्रमुखमा प्युर महतो चयन भएका छन् ।

पार्टीको केन्द्रीय सचिवालय प्रमुखमा माधव कल्पित र सदस्यमा गणेशबहादुर श्रेष्ठलाई जिम्मेवारी दिइएको छ । अन्य विभागमा पनि प्रमुख, उपप्रमुख तथा सदस्यहरूको जिम्मेवारी तोकिएको पार्टीले जनाएको छ ।

बैठकले मंसिर ७ गते दमकमा हुने प्रथम घोषणा सभामार्फत पार्टीको राजनीतिक उद्देश्य, विचार, नीति तथा कार्यक्रम सार्वजनिक गर्ने निर्णय गरेको छ ।

प्रदेश, जिल्ला र स्थानीय तहसम्म संगठन विस्तार गर्ने तथा जनसम्पर्कलाई प्रभावकारी बनाउने योजना पनि बैठकले अघि सारेको छ । पार्टीले जिम्मेवारी पाएका पदाधिकारीलाई संगठन निर्माण र पार्टीका नीति तथा कार्यक्रम कार्यान्वयनमा सक्रिय हुन आग्रह गरेको छ ।

दुई दिनसम्म चलेको बैठकले संगठनात्मक संरचना विस्तारसँगै सार्वजनिक राजनीतिक गतिविधिलाई तीव्रता दिने निर्णय गरेको हो ।