बिर्तामोड, १८ कात्तिक ।
झापाको बिर्तामोडस्थित कञ्चनजङ्घा अङ्ग्रेजी माध्यमिक विद्यालयमा अध्ययन गरेकी प्रकृति दाहालले ACCA (Association of Chartered Certified Accountants) को एफआर (Financial Reporting) फाइनल परीक्षामा विश्वका १८० मुलुकलाई पछि पार्दै ९६ अङ्कका साथ विश्वमै तेस्रो स्थान हासिल गर्न सफल भएकी छिन्।
सोही सफलताको अवसर पारेर आज बिर्तामोडस्थित किङ्सवेरीमा एक भव्य समारोहबीच प्रकृति दाहालसहित ACCA कोर्समा ८५ प्रतिशतभन्दा बढी अङ्क ल्याउने अन्य चार जना उत्कृष्ट विद्यार्थीहरूलाई समेत नगद तथा प्रमाणपत्रद्वारा सम्मान गरिएको छ। सम्मानित हुने अन्य विद्यार्थीहरूमा सन्ध्या उप्रेती, सुमन तिम्सिना, दीपिका खरेल र आयुष्मा आचार्य रहेका छन्।

विद्यालयका संस्थापक प्रिन्सिपल केशवराज न्यौपानेको अध्यक्षता तथा शिक्षा एकेडेमी काठमाडौँका प्रबन्ध निर्देशक दीपक कायस्थको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा विश्वमा तेस्रो स्थान हासिल गर्न सफल दाहाललाई नगद १८ हजार ५ सय रुपैयाँसहित सम्मानपत्रद्वारा सम्मानित गरिएको थियो।
बिर्तामोडस्थित कञ्चनजङ्घा अङ्ग्रेजी माविले विगत तीन वर्षअघिबाट पूर्वमै पहिलो पटक ACCA (चार्टर्ड एकाउन्टेंसी) को पठनपाठन सुरु गरेको हो। हाल यस संस्थामा ५० भन्दा बढी विद्यार्थीहरूले अध्ययन गरिरहेका छन्।
विद्यालय तथा विभिन्न सङ्घसंस्थाबाट सम्मान ग्रहण गरेपछि आफ्नो प्रतिक्रिया व्यक्त गर्दै छात्रा प्रकृति दाहालले विद्यालयको उत्कृष्ट पठनपाठनको वातावरण, शिक्षकहरूको अभिभावकत्व र आफ्नै निरन्तरको कडा मेहनतका कारण यो ऐतिहासिक सफलता हासिल गर्न सकेको बताएकी छिन्।
उनले विद्यालय परिवारप्रति आभार व्यक्त गर्दै कञ्चनजङ्घा अङ्ग्रेजी माध्यमिक विद्यालयमा पूर्ण रूपमा विद्यार्थीमैत्री ढङ्गले पठनपाठन हुने गरेको धारणा राखिन्।

कार्यक्रमका अध्यक्ष तथा विद्यालयका संस्थापक प्रिन्सिपल केशवराज न्यौपानेले प्रकृति दाहालले विद्यालय मात्र नभई सिङ्गो देशकै नाम विश्वसामु उचो राख्न सफल भएकोमा खुसी व्यक्त गर्दै उज्ज्वल भविष्यको शुभकामना दिए। उनले विश्वका १८० देशमा मान्यता प्राप्त ACCA डिग्री पूर्व क्षेत्रमा कञ्चनजङ्घा अङ्ग्रेजी माविमा मात्र सञ्चालन भइरहेको जानकारी दिए। रोजगार र सुनिश्चित भविष्यको खोजीमा रहेका विद्यार्थीहरूका लागि यो कोर्स अत्यन्तै फलदायी हुने उनको भनाइ थियो।
प्रमुख अतिथि एवं शिक्षा एकेडेमी काठमाडौँका प्रबन्ध निर्देशक दीपक कायस्थले ACCA शिक्षालाई नेपालभर विस्तार गर्न विभिन्न एकेडेमीहरूसँग परामर्श र सहकार्य भइरहेको बताए।
उनले ACCA भनेको यूकेको चार्टर्ड सर्टिफाइड एकाउन्टेन्सी डिग्री भएको प्रस्ट पार्दै बिर्तामोडको कञ्चनजङ्घा अङ्ग्रेजी माविले यस क्षेत्रबाट नेपालकै प्रतिष्ठा विश्वमा फैलाउन सफल भएको बताए। कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक दिपक सिटौलालले गरेका थिए ।














