संस्कार, संस्कृति र नेपाली मौलिकताको संरक्षणसँगै विद्यार्थीको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले बृहत् सांस्कृतिक कार्यक्रम सम्पन्न

झापा । झापाको बिर्तामोड नगरपालिका–५ मा रहेको न्युटन्स एजुकेसन एकेडेमीले नेपालीहरूको महान् चाड तिहार, छठ पर्व एवं नेपाल संवत्को शुभारम्भको अवसर पारेर कक्षा १ र २ का विद्यार्थीहरूको सहभागितामा बृहत् सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ।

सानै उमेरदेखि विद्यार्थीलाई नेपाली मौलिक संस्कार, संस्कृति, परम्परा र सामाजिक पहिचानसँग जोड्दै उनीहरूमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले आयोजित कार्यक्रम उत्साह, उमङ्ग र भावनात्मक प्रस्तुतिले भरिपूर्ण बनेको थियो।

कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै न्युटन्स एजुकेशन एकेडेमीका प्रधानाध्यापक देवेन्द्र हुमागाईंले शिक्षालाई केवल पाठ्यपुस्तक र परीक्षामा सीमित नराखी संस्कार, संस्कृति, सामाजिक पहिचान र मानवीय मूल्यसँग जोड्नुपर्ने बताउनुभयो। विद्यार्थीलाई असल, जिम्मेवार र संस्कारी नागरिक बनाउने अभियानमा विद्यालय निरन्तर प्रतिबद्ध रहेको उहाँले स्पष्ट पार्नुभयो।


IMG_1240विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष तथा संस्थापक धर्मा पराजुली प्रसाईंको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साना–साना विद्यार्थीहरूले नेपाली संस्कार र संस्कृति झल्कने लोकनृत्य, तिहार विशेष गीत–सङ्गीत तथा विविध सांस्कृतिक प्रस्तुतिमार्फत उपस्थित दर्शकलाई मन्त्रमुग्ध बनाएका थिए।

विशेषगरी देउसी–भैलो, भाइटीका, दाजुभाइ तथा दिदीबहिनीबीचको आत्मीय सम्बन्ध र तिहारको उल्लासमय वातावरणलाई नृत्य तथा अभिनयका माध्यमबाट जीवन्त रूपमा प्रस्तुत गर्दा कार्यक्रमस्थल नै तिहारमय बनेको थियो।

आफ्नो कलिलो उमेरमै विद्यार्थीहरूले नेपाली मौलिकता, भेषभूषा, धार्मिक तथा सामाजिक सहिष्णुता र सांस्कृतिक विविधता झल्कने प्रस्तुतिहरू दिइरहँदा उपस्थित अभिभावकहरू भावुक बनेका थिए।


IMG_1364

बालबालिकाले मञ्चमा देखाएको आत्मविश्वास, प्रस्तुति क्षमता र संस्कृतिप्रतिको आत्मीयताले कार्यक्रमलाई थप स्मरणीय बनाएको थियो।

कार्यक्रमका अवसरमा विद्यालयका पूर्वविद्यार्थी तथा मिसन झापाका अध्यक्ष माधव झाले न्युटन्स एजुकेसन फाउन्डेसन र यसका संस्थापक स्वर्गीय हरि प्रसाईंले आफ्नो व्यक्तित्व विकास तथा जीवनपद्धतिलाई रूपान्तरण गर्न महत्त्वपूर्ण भूमिका खेलेको स्मरण गर्नुभयो।

न्युटन्समा प्राप्त शिक्षाले आफूलाई आजको स्थानसम्म पुग्न आधार तयार गरेको उल्लेख गर्दै उहाँले संस्थाप्रति कृतज्ञता व्यक्त गर्नुभयो।

त्यसैगरी प्याब्सन बिर्तामोड नगर समितिका सचिव दिवाङ्कर मैनालीले आफूलाई एउटा शैक्षिक संस्थाको नेतृत्व तहसम्म पुग्न सक्ने योग्य र सक्षम बनाउन न्युटन्सको महत्त्वपूर्ण योगदान रहेको बताउनुभयो।

IMG_1813

पूर्वविद्यार्थीका रूपमा विद्यालयको कार्यक्रममा आफ्ना अनुभव राख्ने अवसर प्राप्त गरेकोमा आभार व्यक्त गर्दै उहाँले २०६०–६२ सालतिरै गुणस्तरीय शिक्षाका लागि आवश्यक पूर्वाधार, शैक्षिक सामग्री तथा वातावरण निर्माणमा स्वर्गीय संस्थापक हरि प्रसाईंले गर्नुभएको योगदान प्रशंसनीय रहेको स्मरण गर्नुभयो।

कार्यक्रमका विशिष्ट अतिथि शिक्षककर्मी तथा सामाजिक व्यक्तित्व  सजेश शिवाकोटीले विद्यालयका संस्थापक स्वर्गीय हरिप्रसाद प्रसाईं शिक्षाको क्षेत्रमा केही उल्लेखनीय योगदान गर्नकै लागि जन्मिनुभएको व्यक्तित्व भएको आफूले महसुस गरेको बताउनुभयो।

उहाँको दूरदर्शी सोच, भिजनरी योजना र सम्पूर्ण टिमको शिक्षाप्रतिको समर्पणकै कारण आज न्युटन्स एजुकेशन एकेडेमी विशाल शैक्षिक वृक्षका रूपमा स्थापित हुन सफल भएको उहाँको भनाइ थियो।

विद्यालयका निर्देशक आशिष प्रसाईंले कार्यक्रमलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न सहयोग पुर्‍याउने सम्पूर्ण कर्मचारी, अभिभावक तथा प्राविधिक टोलीप्रति विशेष धन्यवाद ज्ञापन गर्नुभयो।

उहाँले विद्यार्थीलाई समयसापेक्ष, व्यावहारिक र गुणस्तरीय शिक्षा प्रदान गर्ने अभियानमा न्युटन्स एजुकेसन एकेडेमी सदैव क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

विद्यालयले विद्यार्थीको उमेर, रुचि र सिकाइको आवश्यकतालाई ध्यानमा राख्दै विभिन्न चरणमा यस्ता सांस्कृतिक कार्यक्रम आयोजना गर्दै आएको छ।

बालबालिकाको मनोविज्ञानमा सानै उमेरदेखि संस्कार, संस्कृति र सामाजिक मूल्यको शिक्षा दिन सकिएमा मात्र शिक्षाले वास्तविक सार्थकता प्राप्त गर्ने विद्यालयकी शिक्षिका पवित्रा पौडेलले बताउनुभयो।

उहाँका अनुसार पाठ्यपुस्तकबाट प्राप्त ज्ञानसँगै व्यवहार, संस्कार र संस्कृति सिकाउने वातावरण निर्माण गर्न विद्यालयले यस्ता सिर्जनात्मक गतिविधिलाई प्राथमिकता दिँदै आएको छ।

औपचारिक कार्यक्रमको सञ्चालन  शिक्षिका पवित्रा पौडेलले गर्नुभएको थियो।

सानो उमेर, ठूलो प्रतिभा र संस्कृतिप्रतिको अगाध माया! न्युटन्स एजुकेसन एकेडेमीको यस कार्यक्रमले शिक्षा भनेको अक्षर चिनाउने माध्यम मात्र नभई आफ्नो मौलिकता, पहिचान, संस्कार र संस्कृतिसँग नयाँ पुस्तालाई जोड्ने जीवन्त अभियान पनि हो भन्ने सन्देश दिएको छ ।