झापा । धार्मिक आस्था, सामाजिक सद्भाव र सामूहिक श्रमको भावनालाई जोड्दै झापाको अर्जुनधारामा एक नवीन धार्मिक तथा वातावरणीय आयोजना अघि बढाइएको छ।

अर्जुनधारा जलेश्वर धामको पवित्र जल करिब तीन किलोमिटर दक्षिणमा अवस्थित अर्जुनधारा कैलासघाटसम्म पुर्‍याउने गरी ‘मोक्ष जल’ योजनाको तयारी थालिएको हो।

प्रारम्भिक लागत करिब १६ लाख रुपैयाँ अनुमान गरिएको यस योजनाको आगामी कात्तिक १७ गते श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज साम्पाङले भव्य रूपमा शिलान्यास गर्ने कार्यक्रम तय भएको छ। शिलान्यास सम्पन्न भएसँगै आगामी तीन महिनाभित्रै निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको अर्जुनधारा कैलासघाट मोक्ष जल व्यवस्थापन समितिले जनाएको छ।

a92e67ce-5752-45f9-a82f-6d4f94ce9df0

श्रम संस्कृति पार्टी झापाको अगुवाइमा अर्जुनधारा जलेश्वर धाम र अर्जुनधारा कैलासघाट मोक्ष जल व्यवस्थापन समितिको संयुक्त सहकार्यमा यो अभियान सुरु गरिएको हो।

समितिका सहसंयोजक सुजन शिवाकोटीका अनुसार जलेश्वर धामको जल कैलासघाटसम्म पुर्‍याउने यस योजनाले क्षेत्रका दुई ऐतिहासिक एवं सांस्कृतिक महत्त्व बोकेका धार्मिक स्थललाई प्रत्यक्ष रूपमा आपसमा जोड्नेछ।

0aba1341-4644-44da-9fc6-8f13dfad3026यसैगरी, अर्जुनधारा जलेश्वर धामका मूल अर्चक अग्निप्रसाद सिग्देलले जलेश्वर धामको अमृतसमान पवित्र जल कैलासघाटमा पुर्‍याएर मृतकको चिता पखाल्दा आत्मले स्वर्ग प्राप्त गर्ने धार्मिक विश्वास रहेको बताउनुभयो।

योजनाको सफल कार्यान्वयनका लागि स्थानीय तह तथा सम्पूर्ण समुदायको साथ आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्।

गोविन्द खतिवडा (वडाध्यक्ष, अर्जुनधारा-७ तथा सल्लाहकार संयोजक): "योजनालाई मूर्तरूप दिन समाजका सबै क्षेत्र, समुदाय र सरोकारवालाको ऐक्यबद्धता आवश्यक छ।"


हिमालयप्रकाश कन्दङ्वा (केन्द्रीय सदस्य, श्रम संस्कृति पार्टी तथा सल्लाहकार सहसंयोजक): "कात्तिक १७ गते हुने शिलान्यास समारोहमा उपस्थित भई श्रमदान गर्न सम्पूर्ण श्रमदाताहरूलाई हार्दिक आह्वान गर्दछौँ।"


केशव भण्डारी (अध्यक्ष, श्रम संस्कृति पार्टी झापा तथा संयोजक, समिति): "यो केवल एउटा निर्माण कार्य मात्र नभई साझा सामाजिक अभियान हो। यसका लागि भौतिक श्रमदानसँगै आर्थिक सहयोगको पनि उत्तिकै आवश्यकता छ।"


धार्मिक आस्था, श्रम संस्कृति र सामाजिक एकताको अनौठो सन्देश बोकेको यस योजनाले अर्जुनधाराको स्थानीय धार्मिक पर्यटन अभिवृद्धि गर्नुका साथै सांस्कृतिक पहिचानको प्रवर्धनमा समेत महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।