बिर्तामोड, १३ कात्तिक ।

मौसम पूर्वानुमान महाशाखाले जारी गरेको प्रतिकूल मौसमको सूचनालाई मध्यनजर गर्दै 'केजीएफ फाउन्डेशन' (KGF Foundation) को आयोजनामा यही कात्तिक १४ गते हुने भनिएको 'सयपत्री झिलिमिली' सांगीतिक कार्यक्रम आगामी मंसिर ५ गतेका लागि सारिएको छ।

आयोजक संस्थाले आज बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रम सरेको औपचारिक जानकारी गराएको हो।

मितिसँगै केही कलाकारको तालिकामा हेरफेर भए पनि कार्यक्रमका मुख्य आकर्षणका रूपमा रहेका राष्ट्रिय कलाकारहरू— अभया एण्ड द स्टिम इन्जिन (Abhaya and the Steam Engins), बादल लिम्बू र प्रशान्त सिवाकोटीको प्रस्तुति भने साविकबमोजिम नै कायम रहने जनाइएको छ।

1ad58c26-25f4-495c-b448-7ef1ff89e7c0

यसैगरी, पूर्वघोषित र्यापर भियोमा (Vyo-Ma) को मंसिर ५ गतेको समयतालिका नमिल्ने भएकाले उनको सट्टामा अर्का चर्चित र्यापर यावी द गोट (Yawi the Goat) लाई नयाँ अनुबन्ध गरिएको आयोजकले स्पष्ट पारेको छ।

पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार कात्तिक १४ गतेका लागि अग्रिम टिकट काटिसकेका संगीतप्रेमी दर्शकहरूको सोही टिकट मंसिर ५ गतेका लागि मान्य हुनेछ। यदि कसैले टिकट फिर्ता गर्न चाहेमा सोको समेत उचित व्यवस्था गरिएको आयोजकले जनाएको छ। मिति परिवर्तन भए तापनि कार्यक्रम स्थल भने बिर्तामोडस्थित न्युटन स्कुल अगाडिको ग्राउण्ड नै यथावत् रहनेछ।

पशुपन्छी संरक्षण तथा मानवसेवाका क्षेत्रमा क्रियाशील रहँदै आएको केजीएफ फाउन्डेशनले आयोजना गर्न लागेको यस परोपकारी सांगीतिक कार्यक्रमलाई सफल बनाउन सबै पक्षबाट पूर्ण साथ, सहयोग र समर्थनको अपेक्षा राखिएको छ।