बुद्धशान्ति । अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता ‘प्रथम टिमाई शान्तिनगर युनाइटेड कप–२०८३’ लाई भव्य रूपमा सम्पन्न गर्ने लक्ष्यसहित आयोजक टिमाई शान्तिनगर युनाइटेड फुटबल क्लबले तयारीलाई तीव्रता दिएको छ।
आगामी मंसिर २७ गतेदेखि पुस ५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको सफल आयोजना तथा आवश्यक सहयोग र समन्वयका लागि क्लबले बुद्धशान्ति गाउँपालिका कार्यालयसहित गाउँपालिकाका सातवटै वडा कार्यालयमा प्रस्तावना पत्र पेस गरेको छ।
आयोजक टोलीले गाउँपालिका अध्यक्ष मनोज प्रसाईंसँगै सातवटै वडाका वडाध्यक्षहरूसँग भेटघाट गरी प्रतियोगिताको उद्देश्य, तयारी र सफल आयोजनाका लागि आवश्यक सहकार्यका विषयमा छलफल गरेको हो। स्थानीय सरकारसँगको समन्वयलाई प्राथमिकतामा राख्दै क्लबले प्रतियोगितालाई व्यवस्थित र प्रभावकारी बनाउन पहल अघि बढाएको छ।
प्रस्तावना पेस गर्ने कार्यक्रममा प्रतियोगिता संयोजक अर्जुन म्यानेङ्बो सहित दिलबिर थेवे, गजुहाङ योङ्हाङ, बिजय लिम्बू, राजकुमार खवास, झलक मगर, प्रकाश साम्सोहाङ,
वाएसेल लामा, सुर्यमान सुब्बा,विक्रम थेवेलगायत क्लब तथा खेलकुद समितिका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट प्रतियोगिताका रूपमा आयोजना हुन लागेको यस कपले स्थानीय खेलकुद गतिविधिलाई थप सक्रिय बनाउनुका साथै खेलाडीलाई प्रतिस्पर्धात्मक अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ। प्रतियोगिताले बुद्धशान्ति क्षेत्रको फुटबल विकासमा योगदान पुर्याउने र खेलप्रेमीमाझ नयाँ उत्साह थप्ने विश्वास आयोजकले लिएको छ।
प्रतियोगितालाई सफल बनाउन स्थानीय सरकार, खेलकुद क्षेत्रका व्यक्तित्व, संघसंस्था तथा खेलप्रेमीहरूको साथ र सहयोग महत्वपूर्ण रहनेछ। सोही उद्देश्यका साथ आयोजक क्लबले सम्बन्धित निकायसँगको समन्वय र सहकार्यलाई अघि बढाएको हो।
मंसिर २७ गतेदेखि पुस ५ गतेसम्म सञ्चालन हुने ‘प्रथम टिमाई शान्तिनगर युनाइटेड कप–२०८३’ बुद्धशान्ति क्षेत्रको खेलकुद गतिविधिमा महत्वपूर्ण आकर्षण बन्ने अपेक्षा गरिएको छ।














