काठमाडौँ।

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी स्थानीय तहको निर्वाचनलाई दृष्टिगत गर्दै पार्टीको प्रदेश तथा जिल्ला तहको अधिवेशनको तिथिमिति तय गरिने बताएका छन्। पोखरामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले केन्द्रीय समितिको आगामी बैठकमा छलफल गरी कार्यसमितिको परामर्शमा मिति घोषणा गरिने जानकारी दिए।

सम्बोधनका क्रममा थापाले हालै सम्पन्न महाधिवेशन नेपालको राजनीतिक इतिहासमै सबैभन्दा धेरै प्रतिनिधिहरू एकै ठाउँमा भेला भएर सम्पन्न भएको पहिलो ऐतिहासिक अधिवेशन भएको दाबी गरे। विशाल उपस्थितिका कारण व्यवस्थापन चुनौतीपूर्ण रहे तापनि सबैको निरन्तर साथ र सहयोगले अधिवेशन सफलतापूर्वक सम्पन्न भएको उनको भनाइ थियो।

पार्टीभित्रको आन्तरिक लोकतन्त्र र प्रतिस्पर्धाबारे बोल्दै सभापति थापाले आन्तरिक निर्वाचनलाई आम निर्वाचनजस्तो ‘जित्नेले सबै पाउने र हार्नेले सबै गुमाउने’ (Winner-takes-all) प्रणालीका रूपमा लिन नहुने बताए।

“पार्टीभित्र सबैले आ-आफ्नो भूमिका र सम्मानजनक स्थान पाउनुपर्छ। केन्द्रीय समितिमा प्रतिस्पर्धाका कारण जिम्मेवारीबाट बाहिरिएका योग्य साथीहरूलाई समेत समेटेर अघि बढ्नुपर्छ,” उनले थपे, “जित्नेले हस्तिनापुर पाएको र हार्ने सिद्धियो भन्ने संस्कृति पार्टीभित्र चल्दैन।”

प्रतिस्पर्धामा सहभागी नेताहरूले यसलाई सिकाइ र अनुभवका रूपमा लिनुपर्ने उल्लेख गर्दै उनले फरक-फरक क्षमता, योग्यता र अनुभव भएका नेता-कार्यकर्ताहरूलाई पार्टी हितमा उपयोग गरिने प्रतिबद्धता जनाए। साथै, वडादेखि केन्द्रसम्मै संस्थागत रूपमा गुट निर्माण हुने परिपाटीको अन्त्य गर्दै पार्टीभित्रको तिक्तता, कटुता र असहिष्णुता समाप्त पारेर लैजानुपर्नेमा सभापति थापाले विशेष जोड दिएका छन्।