म प्राय फिल्मको दुनियाँमा रमाई रहने मान्छे होइन । अहिले सम्म औँलामा गन्न सकिने संख्यामा मात्र चलचित्रहरू हेरेको छु तर भर्खरै ‘कबड्डी ५’ हेर्ने अवसर मिल्यो । मुस्ताङको निर्मल र रूखा पाखाबाट कथाको बीजारोपण गर्ने ‘कबड्डी’ शृङ्खला करिब १४ वर्षको लामो कालखण्ड पार गर्दै नेपाली चलचित्र उद्योगको एउटा बलियो र स्थापित ब्रान्ड बनि सकेको छ । दर्शकको उर्लंदो भीड, व्यावसायिक सफलता र बक्स अफिसका रेकर्डहरूले यसको लोक प्रियतालाई छताछुल्ल पारेका छ । सम्भवत यो शृङ्खला अहिलेका निर्माताहरूको लागि सुनको अन्डा पार्ने भरपर्दो माध्यम बनेको छ । फिल्मको कथा प्रवाह अत्यन्तै सलल र आकर्षक छ । मध्यान्तर कहिले भयो र पर्दा कहिले खस्यो पत्तै नपाइने गरी दर्शकलाई अन्त्य सम्म सोझै बाँधेर राख्न सक्नु यसको सबैभन्दा सबल पक्ष हो । काजीको पहिलो प्रेम, त्यसपछि जीवनमा थपिँदै गएका भावनाका उचारचढाव र अनेकन घुम्तीहरू पार गर्दै यो शृङ्खला सम्म आईपुग्दा काजीको विवाह सम्म भएको छ । आगामी दिनमा काजीको आँगनमा सन्तानको आगमन होला, उसले थालेका नयाँ कर्मले सफलता मिल्ला । गाउँको एक प्रतिष्ठित व्यक्तित्व बनेर उसले समाजको सेवा गर्ला । यी सबै जिज्ञासाहरूको उत्तर त आउँदो कथाले नै देला । समग्रमा चलचित्र उत्कृष्ट बनेको छ र नेपाली माटोको कथा रुचाउने जो कोहीलाई म यो फिल्म हेर्न सहजै सिफारिस गर्छु तर मेरो कलम यो मनोरञ्जनको तारिफ गर्न मात्र चलाएको होइन ।
फिल्मको कथा भित्रको २५/३० सेकेन्डको एक छोटो दृश्यले मभित्र गहिरो तरङ्ग पैदा गर्यो र एउटा ज्वलन्त प्रश्न खडा गरि दियो । पहिलो र दोस्रो शृङ्खलामा राजनीतिको दाउपेचमा देखिँदै आएका पात्र जो मैयाको बुवा हुन्छ, यस पटक उसलाई सापटी लिएको आर्थिक विवादमा फसेको पात्रको रुपमा देखाएको छ । मैयाको बुवालाई आर्थिक सापटी दिएको बनाएर नयाँ पात्र थप्दै मैयालाई फेरि कथामा ल्याउने प्रयास गरिएको छ । कथामा थपिएको नयाँ पात्रले आफ्नो रगत पसिनाको कमाई फिर्ता पाउन उनी गाउँ देखि सहर सम्म भौँतारिन्छ । रकम खोसिएला भन्ने छटपट्टीमा उनको मानसिक स्थिति असन्तुलित जस्तो देखिनु स्वाभाविक पनि छ तर कथाले यो आर्थिक विवादलाई राजनीतिक स्वार्थ र प्रहरी संयन्त्रको सम्भावित दुरुपयोगसँग लगेर जोड्छ । सापटी लिएको रकम फिर्ता गर्नु पर्ने व्यक्तिलाई नै प्रहरी संयन्त्रसँगको मिलेमतोमा फसाउने र हिरासतमा पुर्याउने षड्यन्त्रको दृश्य त्यहाँ चित्रण गरिएको छ । पर्दामा प्रस्तुत यो पात्र कुनै लाचार वा साधारण व्यक्ति होइन । ऊ राजनीतिक ओत पाएको र राज्यको सुरक्षा निकायको ‘मोस्ट वान्टेड’ सूचीमा दुई वर्ष देखि कुख्यात भनिएको पात्र हो । यस्तो आपराधिक पृष्ठभूमि बोकेको व्यक्तिले आफ्नो स्वैच्छिक स्वार्थ पूरा गर्न स्थानीय प्रभाव र राज्यको कानुन कार्यान्वयन गर्ने निकायलाई नै आफ्नो ईशारामा चलाउन खोजेको दृश्यले स्तब्ध बनाउँछ । यदि कानुन कार्यान्वयन गर्ने जस्तो संवेदनशील निकाय नै कसैको व्यक्तिगत स्वार्थ, आर्थिक लेनदेन वा राजनीतिक प्रतिशोध पूरा गर्ने माध्यमका रूपमा प्रयोग हुन थाल्छ भने न्यायको खोजीमा दरिद्रे बनेर भौँतारिने सर्वसाधारणले अन्तिम भरोसा गर्ने ठाउँ कहाँ बाँकी रहन्छ? नेपाल प्रहरी कुनै साधारण सरकारी वा प्रशासनिक कार्यालय मात्र होइन । यो त नागरिकको जीवनको सुरक्षा, कानुनी शासनको प्रत्याभूति र न्यायको मन्दिर प्रतिको अटल आस्थासँग जोडिएको पवित्र संस्था हो । प्रहरीको ध्येय कुनै शक्तिशालीको छत्रछाया बन्नु होइन, कानुनको निष्पक्ष र कठोर कार्यान्वयन गर्नु हो । हिरासत कसैको रिसइबी पोख्ने, मानमर्दन गर्ने वा सुनियोजित ढङ्गले जीवन बर्वाद गर्ने थलो कदापि होइन । त्यहाँ त हरेक नागरिकको वैधानिक अधिकार र मानवीय गरिमाको उच्च सम्मान हुनु पर्छ । यही अकाट्य सत्यले मलाई त्यो दृश्य देख्दा गम्भीर रूपमा झक्झकायो । म यो कुरामा पूर्ण सचेत छु कि यो एउटा काल्पनिक कथा हो । फिल्ममा देखिएका पात्र र घटनाहरू वास्तविक जीवनको हुबहु प्रतिलिपि हुन् भन्ने कुनै प्रमाण छैन । त्यसै गरी एउटा पर्दाको काल्पनिक दृश्याङ्कनको आधारमा नेपाल प्रहरीको विशाल र गौरवशाली सङ्गठनलाई समग्रमा कटघरामा उभ्याउनु पनि अन्याय पूर्ण हुन्छ तर कथा काल्पनिक भए पनि त्यसले समाजका मुख्य खम्बा मानिएका संस्थाको कार्यशैली र जनमानसमा तिनको विश्वसनीयता माथि निर्मम प्रश्नहरू खडा गर्न सक्छ । मेरा यी चिन्ताहरू प्रहरी सङ्गठनका प्रत्येक प्रहरीको इमानदारी माथि शङ्का गर्न नभई अधिकारको दुरूपयोगले निम्त्याउने भयावह परिणाम प्रतिको एक सचेत नागरिकको रोष हो । चलचित्र रिलिज भएको समय २/४ दिन बिति सकेको छ । यस दृश्य प्रति नेपाल प्रहरीको तर्फबाट कुनै आधिकारिक खण्डन वा धारणा आएको छ वा छैन, मलाई जानकारी छैन । सङ्गठन मौन छ भन्दैमा यसलाई कुनै अनधिकृत कार्यको मौन समर्थनका रूपमा अर्थ्याउन मिल्दैन तर एउटा गम्भीर प्रश्न सधै अनुत्तरित भई रहन्छ । चलचित्र जस्तो शक्तिशाली र जनसरोकारको माध्यमबाट राज्यको मेरुदण्ड मानिने सुरक्षा निकायको निष्पक्षता माथि प्रश्न चिह्न खडा हुँदा त्यसले समाजमा पार्ने दीर्घकालीन भ्रम र असरबारे बौद्धिक बहस चलाउनु पर्छ कि पर्दैन? म कुनै छानबिनको माग गर्न वा प्रहरीको साख गिराउन यो लेख लेखि रहेको छैन । मेरो कुरा यति हो, यदि वास्तविक जीवनमा पनि कुनै प्रहरी अधिकारीले आफ्नो पदको दुरुपयोग गरेर कसैलाई फसाउँछ वा अवैध रूपमा यातना दिन्छ भने, त्यसको निष्पक्ष छानबिन हुनु पर्छ । कानुनभन्दा माथि कोही पनि हुनु हुँदैन, चाहे त्यो नेता होस् वा प्रहरी! अन्त्यमा मेरो प्रश्न उही छ? कानुनको रक्षा गर्ने निकाय नै कसैको इसारामा चल्ने हो भने जनताले कसलाई विश्वास गर्ने? प्रहरीको सम्मान कसैले थुपारेको डरबाट होइन, निष्पक्षता र जनविश्वासबाट मात्रै आर्जित हुनु पर्छ । धन्यवाद।














