*भरत भावुक प्रसाई*
झापाको बिर्तामोड नगरपालिका–१ स्थित सिरिजङ्गा नचानु विष्णु चौतारा टोल विकास संस्थाको मातहतमा रहेको काली मन्दिरको संरक्षण, व्यवस्थापन र दिगो विकासका लागि स्थानीय सरोकारवाला एकजुट भएका छन्।
मन्दिरलाई व्यवस्थित रूपमा सञ्चालन गर्दै धार्मिक गतिविधि विस्तार गर्ने र सार्वजनिक गुठीका रूपमा स्थापित गर्ने उद्देश्यसहित स्थानीयवासीले पहल थालेका हुन्।
टोल विकास समितिका अध्यक्ष तिलकनारायण श्रेष्ठको अध्यक्षतामा आज सम्पन्न आम भेलाले काली मन्दिरको संरक्षण, व्यवस्थापन तथा विकासका लागि टोल विकास संस्थाकै मातहतमा रहने गरी छुट्टै व्यवस्थापन उपसमिति गठन गर्ने निर्णय गरेको हो।
टोल विकास समितिका सचिव भरत प्रसाईले स्थानीयको सामूहिक पहलबाट मन्दिरलाई व्यवस्थित र धार्मिक गतिविधिको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य राखिएको जानकारी दिनुभयो।
छलफल तथा अन्तरक्रिया कार्यक्रममा बिर्तामोड नगरपालिका वडा नम्बर १ का वडा सदस्य योगचन्द्र आङबोहाङको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा बोल्दै वडा सदस्य आङबोहाङले स्थानीय सरकार सञ्चालनसम्बन्धी निर्देशिकाअनुसार मठमन्दिर तथा गुठीको संरक्षण र व्यवस्थापनका लागि आवश्यक उपसमिति निर्माण गर्नुपर्नेमा जोड दिनुभयो।
धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणमा स्थानीय सरकार र समुदायबीच सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो।
वि.सं. २०६० सालमा सामाजिक व्यक्तित्व रेखा आङवाङले आफ्ना दिवंगत बुवाआमाको स्मृतिमा चार धुर जग्गामा काली मन्दिर निर्माण गरिदिनुभएको थियो।
लामो समयदेखि स्थानीयको आस्था र विश्वासको केन्द्रका रूपमा रहेको मन्दिरलाई अब सामूहिक सहभागितामार्फत थप व्यवस्थित बनाउने उद्देश्य राखिएको छ।
भेलाले काली मन्दिरको संरक्षण, व्यवस्थापन र दिगो विकासका लागि गणेशबहादुर गौतमको अध्यक्षतामा नयाँ व्यवस्थापन उपसमिति गठन गरेको छ।
समितिको उपाध्यक्षमा कमलसरी राजवंशी, सहसचिवमा माधव राजवंशी र कोषाध्यक्षमा जयन्ती खनाल चयन हुनुभएको छ। त्यसैगरी सदस्यहरूमा मीरा ढकाल, टुपाल राजवंशी, ममता बिमली र रम्बाकुमारी राजवंशी चयन हुनुभएको छ।
यसैगरी योगचन्द्र आङबोहाङलाई सल्लाहकार संयोजक चयन गरिएको छ भने तिलकनारायण श्रेष्ठ तथा भोजकुमार मास्के, धनराज याक्सो र झलकसिंह राजवंशीलाई सल्लाहकार सदस्यका रूपमा चयन गरिएको छ।
कार्यक्रममा बोल्दै मन्दिरका दाता तथा संरक्षक आङबोहाङले मन्दिर र त्यससँग सम्बन्धित जग्गा टोल विकास संस्थालाई हस्तान्तरण गर्दै आगामी दिनमा पनि आफ्नो तर्फबाट आवश्यक सहयोग निरन्तर गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले मन्दिरको छाना तथा बेरा निर्माण, रंगरोगन, कल निर्माण र मन्दिर परिसरको सरसफाइ तथा सौन्दर्यीकरणलाई तत्काल अघि बढाउनुपर्ने आवश्यकतासमेत औँल्याउनुभयो।
त्यस्तै, टोल विकास समितिका सल्लाहकार तथा स्थानीय झलकसिंह राजवंशीले मन्दिरलाई धार्मिक गतिविधिमार्फत चलायमान बनाउन सबै स्थानीयवासीले आ–आफ्नो स्थानबाट सहयोग गर्नुपर्ने बताउनुभयो। मन्दिर कुनै एक व्यक्तिको मात्र नभई सम्पूर्ण समुदायको साझा आस्थाको धरोहर भएकाले यसको संरक्षणमा सबैको जिम्मेवारी रहने उहाँको भनाइ थियो।
नवनिर्वाचित समितिलाई कार्यक्रमका प्रमुख अतिथि योगचन्द्र आङबोहाङ तथा संरक्षक आङबोहाङले खादा, अबिर र माल्यार्पणसहित बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो।
नवनिर्वाचित अध्यक्ष गणेशबहादुर गौतमले सबैको सानो–सानो सहयोग र सामूहिक प्रयासबाट काली मन्दिरको संरक्षण तथा व्यवस्थापनलाई प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो।
अत्यन्तै पवित्र र अलौकिक शक्तिको आस्थासँग जोडिएको मन्दिरलाई व्यवस्थित गर्दै भावी पुस्तासम्म यसको धार्मिक तथा सांस्कृतिक महत्त्व जोगाइराख्न नयाँ समिति प्रतिबद्ध रहेको उहाँले बताउनुभयो।
कार्यक्रमको सहजीकरण टोल विकास समितिका सचिव, नवनिर्वाचित उपसमितिका सचिव तथा पत्रकार भरत प्रसाईले गर्नुभएको थियो।














