झापा ।

सूचना तथा सञ्चार मन्त्रालयले केन्द्रिय चलचित्र जाँच समितिबाट युनिभर्सल सर्टिफिकेट पाएको ‘पाँच पाण्डव’को प्रदर्शन तत्काल रोक्न आदेश दिएको छ। निर्माण पक्षका अनुसार नेपालगञ्जका प्रमुख जिल्ला अधिकारीले गृह मन्त्रालयमा फिल्म रोक्न आग्रह गरेपछि गृह मन्त्रालयले सञ्चार मन्त्रालयलाई प्रदर्शन नगराउन निर्देशन दिएको थियो। फिल्मको थिम पोस्टरपछि असन्तुष्ट समूहले आस्थामाथि चोट पुगेको भन्दै आलोचना गरेपछि हरिवंश आचार्यमाथि अनर्गल आरोप लगाउँदै बहिष्कारको अभियान चलाएको बताइएको छ।

आउँदो शुक्रबारदेखि फिल्म प्रदर्शन हुँदै थियो । हिजो मात्र  सेन्सर बोर्डको अनुमति पाएको फिल्म साँझतिर भने रोकिएको छ ।

सूचना तथा सञ्चार मन्त्रालयले पत्राचार गर्दै फिल्म निर्माण टिमलाई तत्काल यो फिल्म प्रदर्शन नगर्न आदेश  दिएको बताइन्छ । यसले फिल्म निर्माण टिमलाई ठूलो झड्का लागेको छ ।

‘बुकिङ नखोल्नु, गृह सचिवको ठाडो आदेश छ’ भन्दै मन्त्रालयका कर्मचारीले फोन गरेको स्रोत बताउँछ । स्रोतका अनुसार, ‘चिठी बुझ्न सिंहदरबार आउनु भनिएको छ ।’

फिल्म निर्माण पक्षका अनुसार नेपालगञ्जका प्रमुख जिल्ला अधिकारीले गृह मन्त्रालयमा सो फिल्म रोक्न आग्रह गरेका थिए । ‘सोहीअनुरूप गृह मन्त्रालयले सञ्चार मन्त्रालयलाई फिल्म प्रदर्शन नगराउन आदेश दिएको थियो,’ स्रोत भन्छ ।

फिल्म प्रदर्शनमा रोक लगाइएकोमा फिल्मकर्मीहरूले आपत्ति जनाएपछि चलचित्र विकास बोर्डले ‘यस विषयमा भोलि छलफल गरेर सबै कुरा मिलाउँला’ भनेको स्रोतको भनाइ छ ।