नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा मंगलबार पहिलो संस्करणको च्याम्पियन जनकपुर बोल्ट्स र विराटनगर किङ्सबीच खेल हुँदैछ ।

विराटनगर किङ्स र जनकपुर बोल्ट्सबीचको खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा १२:३० बजे शुरू हुनेछ । जारी एनपीएलको यो १२औँ खेल हो ।

प्रतियोगितामा जनकपुर र विराटनगर दुवै टोलीले आफ्नो चौथो खेल खेल्न लागेका हुन् । हालसम्मको अंक तालिकामा विराटनगरभन्दा जनकपुरको अवस्था बलियो देखिन्छ ।

तीनमध्ये दुई खेलमा जीत र एक खेलहा हारको नतिजा निकोलको जनकपुर चार अंकसहित तालिकाको दोस्रो स्थानमा आसिन छ ।

तीनमध्ये केवल एक खेलमा जीत र दुई खेलमा हारबाट दुई अंक बटुलेको विराटनगर भने तालिकाको छैटौँ स्थानमा छ ।

जनकपुरले जारी सिजनको शुरूआत हारबाट गरेको थियो । आफ्नो पहिलो खेलमा जनकपुरको टोली कर्णाली याक्ससँग १९ रनले पराजित भएको थियो ।

त्यसपछि लयमा फर्किएको जनकपुरले आफ्नो दोस्रो खेलमा काठमान्डु गोर्खाजलाई आठ विकेटले र तेस्रो खेलमा पोखरा एभेन्जर्सलाई नौ रनले हराएको थियो ।

विराटनगर किङ्सले हारबाटै तेस्रो संस्करणको शुरूआत गरेको थियो । विराटनगर आफ्नो पहिलो खेलमा चितवन राइनोजसँग आठ रनले हारेको थियो ।

दोस्रो खेलमा कर्णाली याक्ससँग चार विकेटले स्तब्ध: बनेको विराटनगरले तेस्रो खेलमा भने सुदूरपश्चिम रोयल्सलाई ३५ रनले पराजित गरेको थियो ।

विराटनगर र सुदूरपश्चिमबीचको खेल वर्षाका कारण पाँच–पाँच ओभरमा खेलाइएको थियो । पहिलो ब्याटिङ गरेको विराटनगरले पाँच ओभरमै केवल दुई विकेट गुमाएर एक सय पाँच रन बनाएको थियो ।

ठूलो लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको सुदूरपश्चिमले भने निर्धारित ओभरमा तीन विकेट गुमाएर ७० रनमात्र बनाउन सकेको थियो ।

जारी सिजनको एनपीएलमा जनकपुरका लागि हालसम्म सर्वाधिक रन बनाउने ब्याट्सम्यान मोइन अली हुन् । उनले तीन खेलमा एक अर्धशतकको मद्दतले ९८ रन बनाएका छन् ।

विराटनगरका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान भने लोकेश बम हुन् । उनले एक अर्धशतकको मद्दतले एक सय ३८ रन बनाएका छन् । उनी सर्वाधिक रन बनाउने सूचिमा पहिलो स्थानमा छन् ।

उनी एनपीएलको तेस्रो संस्करणमा एउटै खेलमा उच्च स्कोर बनाउने खेलाडी पनि हुन् । उनले कर्णाली याक्सविरुद्ध ८७ रन बनाएका थिए ।

विराटनगर किङ्सका लागि वेस्ट इन्डिजका प्रभावशाली खेलाडी आन्द्रे रसेलले पनि तीन खेलमा कुल ८९ रन बनाएका छन् ।

यसैगरी, सर्वाधिक विकेट लिने बलरको सूचिमा दोस्रो, तेस्रो र पाँचौँ स्थानमा जनकपुर बोल्ट्सका खेलाडी रहेका छन् ।

जनकपुरका मोइन अली, कप्तान हरमित सिंह र राहुल यादवले ६–६ विकेट लिइसकेका छन् । १६ वर्षीय मध्यमतेज गतिका बलर राहुलले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।

विराटनगर किङ्सका लागि भने अनुभवी श्रीलंकाली खेलाडी एन्जेलो म्याथ्यूजले तीन खेलमा पाँच विकेट लिएका छन् ।

जारी एनपीएलमा विराटनगरले बनाएको उच्च स्कोर सात विकेट गुमाएर एक सय ८६ रन हो । जनकपुरले बनाएको उच्च स्कोर भने सात विकेट गुमाएर एक सय ४७ रन हो ।

एनपीएलको इतिहासमा हालसम्म जनकपुर र विराटनगर दुईपटक आमने–सामने भएका छन् । सन् २०२४ मा आयोजित पहिलो संस्करणमा जनकपुरले विराटनगरलाई आठ विकेटले हराएको थियो ।

यसैगरी, सन् २०२५ मा आयोजित दोस्रो संस्करणमा भने अघिल्लो हारको बदला लिँदै विराटनगरले जनकपुरलाई नौ रनले पराजित गरेको थियो ।