एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको रिपब्लिकन पार्टीले संसदमा आफ्नो नियन्त्रण कायम राख्छ वा गुमाउँछ भन्ने फैसला गर्ने निर्वाचनको पूर्वसन्ध्यामा अमेरिकी मतदाताहरूको प्रमुख ध्यान अर्थतन्त्र र बढ्दो महँगीमा केन्द्रित देखिएको छ ।
आम नागरिकहरू निरन्तरको मूल्यवृद्धिका लागि ट्रम्प प्रशासनका भन्सार नीति तथा आठ महिनादेखि जारी इरान युद्धलाई मुख्य कारक मानिरहेका छन् ।
तथ्यांकहरूले भने अर्थतन्त्रको फरक र मिश्रित तस्बिर देखाउँछन् । सकारात्मक पक्ष हेर्दा अमेरिकामा बेरोजगारी दर ऐतिहासिक रूपमै न्यून विन्दुमा छ । गत सेप्टेम्बरमा बेरोजगारी दर ४.२ प्रतिशतमा झरेको थियो र लगातार पाँच वर्षदेखि यो ४.५ प्रतिशतभन्दा तल रहँदै नयाँ कीर्तिमान बनाएको छ ।
त्यसैगरी, गत त्रैमासिकमा अमेरिकी अर्थतन्त्र वार्षिक ३.४ प्रतिशतको दरले विस्तार भएको छ । यो यस वर्षकै उच्च वृद्धि हो । कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा आएको लगानीको लहरले व्यापारिक लगानी १२.७ प्रतिशतले बढाएको छ भने यसले सेयर बजारलाई समेत उचाइमा पुर्याएको छ ।
ट्रेजरी सेक्रेटरी स्कट बेसेन्टले उपभोक्ताहरूको व्यवहार र कर्पोरेट गतिविधि बलियो रहेको बताउँदै सरकारको कर, व्यापार र ऊर्जा नीतिहरू सही दिशामा रहेको दाबी गरेका छन् ।
तर, यी सकारात्मक तथ्यांकका बाबजुद आम अमेरिकीहरूमा महँगीप्रति चर्को असन्तुष्टि देखिन्छ । पेट्रोल भर्दा, युटिलिटी बिल तिर्दा वा खाना अर्डर गर्दा नागरिकहरूले चर्को मूल्यवृद्धि झेलिरहेका छन् । युनिभर्सिटी अफ मिसिगनको उपभोक्ता भावना सूचकांक ऐतिहासिक न्यून विन्दु नजिक पुगेको छ ।
सन् २०२५ जनवरीमा ट्रम्पले दोस्रो कार्यकाल सम्हालेयता उपभोक्ता मूल्य र औसत प्रतिघण्टा ज्याला दुवै समान रूपमा करिब ५.५ प्रतिशतले बढेका छन् । यसको अर्थ नागरिकहरूको क्रयशक्तिमा कुनै वास्तविक सुधार भएको छैन ।
यसै वर्ष अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणपछि सुरु भएको आठ महिना लामो युद्धले विश्वभर इन्धनको मूल्य बढाएको छ जसले मुद्रास्फीतिलाई थप इन्धन दिएको छ ।
अर्कोतर्फ, महँगी नियन्त्रण गर्न केन्द्रीय बैंक ’फेड’ ले सेप्टेम्बरमा नीतिगत ब्याजदर बढाएको छ र आगामी डिसेम्बरमा पनि ब्याजदर थप बढाउने अनुमान गरिएको छ । फेडका अध्यक्ष केभिन वार्शले यसलाई महँगी घटाउने ‘मौद्रिक औषधि’ भनेका छन् ।
तर, ब्याजदर वृद्धिसँगै ३० वर्षे घर कर्जा (मोर्गेज) को दर ७ प्रतिशतभन्दा माथि पुगेको छ र आवासको अभावले गर्दा सर्वसाधारणका लागि आफ्नै घर किन्ने सपना निकै कठिन र महँगो बन्न पुगेको छ ।
साथै, अमेजन र इन्टेलजस्ता ठूला कम्पनीहरूको वित्तीय नतिजापछि एआई क्षेत्रको लगानी निरन्तर रहन सक्नेमा आशंका उब्जिएको छ । उच्च तेलको मूल्य, भन्सार नीति र आप्रवासनमा कडाइले महँगी बढाउँदै आर्थिक वृद्धि सुस्त हुने ‘स्ट्यागफ्लेसन’को जोखिम रहेको चेतावनी अर्थविद्हरूले दिएका छन् ।
नोभेम्बर ३ को यस निर्वाचनको मतपत्रमा राष्ट्रपति ट्रम्पको नाम नभए पनि मतदाताहरू उनको आर्थिक कार्यसम्पादनलाई ध्यानमा राखेर मतदान गर्दैछन् । यसले गर्दा चुनावको नतिजा कंग्रेसको शक्ति सन्तुलन फेरबदल गर्न निर्णायक हुने देखिएको छ ।











