बिर्तामोड, झापा। नेपाली मौलिक कला, संस्कृति, परम्परा र चाडपर्वको संरक्षण तथा नयाँ पुस्तामा सांस्कृतिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले झापाको बिर्तामोड नगरपालिका–७ स्थित कञ्चन बोर्डिङ स्कुलमा देउसी–भैलोसहित विविध सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

विद्यालयमा गठित कञ्चन बाल क्लबको आयोजनामा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूले नेपाली मौलिक परम्परा झल्किने विभिन्न सांस्कृतिक प्रस्तुति दिएका थिए। परम्परागत भेषभूषामा सजिएका विद्यार्थीहरूले गीत, नृत्य, देउसी–भैलो तथा अन्य मनोरञ्जनात्मक प्रस्तुति प्रस्तुत गर्दै उपस्थित अतिथि, अभिभावक र दर्शकलाई मन्त्रमुग्ध बनाएका थिए।

36ee5951-4c3f-4ed4-b985-b59d33711516

कञ्चन बाल क्लबकी अध्यक्ष ओजस्वी खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख आतिथ्यता बिर्तामोड नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष कृष्ण अविरल खरेलले गर्नुभएको थियो।

कार्यक्रममा विभिन्न कक्षाका विद्यार्थीहरूले समूहगत रूपमा देउसी–भैलो खेल्दै नेपाली मौलिक संस्कृति र परम्पराको जीवन्त झल्को प्रस्तुत गरेका थिए। विद्यार्थीहरूको उत्साह, सिर्जनशीलता र प्रतिभाले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।

0cf4fc07-0ef0-4601-91ed-4dfd98dc607e

कार्यक्रमको औपचारिक सत्र विद्यालयका शिक्षक डिल्लीराम चम्लागाईंले सञ्चालन गर्नुभएको थियो। सोही अवसरमा साहित्यकार तथा गजलकार इलामी जेठाेका सुमधुर गजल प्रस्तुतिले कार्यक्रमको साहित्यिक र सांस्कृतिक पक्षलाई थप उचाइ दिएको थियो।

त्यस्तै, सांस्कृतिक प्रस्तुतितर्फको सञ्चालन विद्यार्थीहरू पायल विश्वकर्मा, समीक्षा गदाइली र प्रकृति तिम्सिनाले संयुक्त रूपमा गरेका थिए। कार्यक्रममा उपस्थित अतिथि तथा आगन्तुक अभिभावकहरूलाई क्लबका उपाध्यक्ष रेन्जल बास्कोटाले स्वागत गर्नुभएको थियो।

कार्यक्रममा बालबालिका सञ्चार मञ्चका अध्यक्ष सरोज खनाल, मोफसल अनलाइनका सम्पादक भरत प्रसाईँ, विद्यालयका सह–प्रधानाध्यापक बद्री बास्कोटालगायत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा पदाधिकारी, शिक्षक–शिक्षिका, अभिभावक र विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

पछिल्लो समय आधुनिकताको प्रभावसँगै मौलिक चाडपर्व र संस्कृतिका कतिपय परम्परा ओझेलमा पर्दै गइरहेको अवस्थामा विद्यालयले विद्यार्थीलाई प्रत्यक्ष रूपमा देउसी–भैलो, गीत, नृत्य र सांस्कृतिक प्रस्तुतिमा सहभागी गराउनु सकारात्मक प्रयासका रूपमा देखिएको छ। यस्ता कार्यक्रमले विद्यार्थीमा नेतृत्व क्षमता, सामूहिक भावना, आत्मविश्वास, सिर्जनशीलता र सामाजिक उत्तरदायित्वको विकास गर्नसमेत महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

कञ्चन बोर्डिङ स्कुलले शैक्षिक गतिविधिसँगै विद्यार्थीहरूको चौतर्फी विकासलाई प्राथमिकतामा राख्दै विभिन्न अतिरिक्त क्रियाकलाप, खेलकुद, साहित्यिक तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्दै आएको छ। विद्यालयले विद्यार्थीको रुचि, क्षमता र प्रतिभालाई पहिचान गरी विभिन्न प्रतियोगितामा सहभागी गराउँदै उत्कृष्ट नतिजासमेत हासिल गर्दै आएको छ।

347e3775-65f7-479f-9606-7df9949334b0

कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै विद्यालयका प्रधानाध्यापक दीपक चम्लागाईंले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि किताबी ज्ञानसँगै व्यवहारिक, सिर्जनात्मक र सांस्कृतिक गतिविधिको पनि उत्तिकै महत्त्व रहने बताउनुभयो। उहाँले धैर्य, अनुशासन र निरन्तरको मेहनतबाट मात्रै जीवनमा सफलता हासिल गर्न सकिने उल्लेख गर्दै विद्यार्थीलाई आफ्नो प्रतिभा पहिचान गरी सकारात्मक कार्यमा अघि बढ्न प्रेरित गर्नुभयो।

नेपाली चाडपर्वले समाजमा आपसी एकता, सद्भाव, भाइचारा र पारस्परिक सहयोगको भावना जागृत गराउने बताउँदै प्रधानाध्यापक चम्लागाईंले विश्व समुदायमा नेपाली संस्कृति आफ्नै मौलिक पहिचान, परम्परा र विशेषताका कारण अनुपम तथा पृथक रहेको धारणा व्यक्त गर्नुभयो। नयाँ पुस्तालाई आफ्नो संस्कार र संस्कृति चिनाउन विद्यालयस्तरबाटै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा उहाँले जोड दिनुभयो।