बिर्तामोड । झापा-भारतको सिक्किममा बर्सेनि आयोजना हुँदै आएको गायन प्रतियोगिता ‘सिक्किम आइडल’ यसपटक अन्तर्राष्ट्रियस्तरको बनेको छ ।

‘सिक्किम आइडल इन्टरनेसनल सिजन-३’ मार्फत नेपालसहित विश्वभरका नेपालीभाषी गायन प्रतिभालाई प्रतिस्पर्धाको एउटै मञ्चमा जोड्न लागिएको हो ।

प्रतियोगिताको अन्तर्राष्ट्रिय संस्करणबारे जानकारी दिन शुक्रबार बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले नेपालका विभिन्न सहरमा प्रत्यक्ष अडिसन गर्ने जानकारी दिएको छ । बिर्तामोडमा नोभेम्बर ३० मा अडिसन हुनेछ ।

‘नयाँ प्रतिभाको खोजी’ भन्ने नारासहित अघि बढाइएको यस प्रतियोगितामा निर्मला देवी फाउन्डेसनको सहकार्य रहेको छ । प्रतियोगिताको पहल र प्रमुख संरक्षकत्त्वमा मुख्यमन्त्रिका राजनैतिक सचिव ज्याकब खालिङ रहनु भएको छ ।

प्रतियोगिताका संरक्षक सन्जय दिलपाली राईका अनुसार गायनमा रुचि र क्षमता भएका नेपाली प्रतिभालाई अवसर प्रदान गर्दै उनीहरूको कलालाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले यस प्रतियोगितालाई विस्तार गरिएको हो ।

‘यसअघि सिक्किम राज्यभित्रका प्रतिभालाई मात्र समेट्दै आएका थियौँ, यसपटक विश्वभर रहेका नेपाली भाषी नवप्रतिभालाई सिक्किमसँग जोड्ने पनि हाम्रो उद्देश्य हो’, उनले भने ।

16c928f8-5bd0-4c7d-83e8-6143dfd891e9-768x543

उनका अनुसार प्रतियोगिताको पहिलो संस्करणकी विजेता जेत्सेन डोना लामा भारतको चर्चित गायन रियालिटी शो ‘सारेगामापा लिटल च्याम्प्स’मा समेत विजेता बनिसकेकी छन् । दोस्रो संस्करणकी विजेता ओजस्वी गुरुङको सांगीतिक यात्रा पनि सफल रहँदै आएको उदाहरण दिँदै यस्तै प्रतिभा विश्वभरका नेपालीबाट खोजी गर्ने लक्ष्य राखिएको उनले बताए ।

कार्यक्रममा चिफ प्रोग्राम अपरेटिङ अफिसर मनोज राईले प्रतियोगितामा १५ वर्ष उमेर पूरा भएका प्रतिभाले सहभागिता जनाउन सक्ने बताए् ।

उनका अनुसार अनलाइन अडिसनका लागि नोभेम्बर २५ (मंसिर ९ गते) सम्ममा दुई मिनेटसम्मको गायन भिडियो पठाउन सकिनेछ । एउटा मात्र वाद्यवादन प्रयोग गरेर वा नगरी स्पष्ट स्वरसहितको गीत गाएर रेकर्ड गरिएको भिडियो पठाउन उनले अनुरोध गरेका छन् । भिडियो पठाउन वाट्सएप नम्बर+91 6296529813, +91 9475371002वा [email protected] मा इमेल गर्न सकिनेछ । 

पत्रकार भेटघाटमा प्रोग्राम इन्चार्ज दिवस राईले प्रतियोगितामा एसएमएस भोटिङ नराखिएको र सिक्किमबाहिरबाट छनोट भएका प्रतिभालाई लजिस्टिक सुविधा समेत रहेको बताएका छन् ।

कार्यक्रममा प्रतियोगिताका क्रिएटिभ हेड प्रनिस पाख्रिन, कवि नवराज पराजुली लगायतको उपस्थिति रहेको कार्यक्रमको सहजीकरण सुनिता तामाङले गरेकी थिइन् ।

IMG_6809-scaledआयोजकका अनुसार मंसिर १४ गते (नोभेम्बर ३०) बिर्तामोड, काठमाडौं र देहरादुनमा प्रत्यक्षरुपमा फिजिकल अडिसन हुनेछ । डिसेम्बर ३ मा गुवाहाटी, सिलिगुडी, दार्जिलिङ र कालिम्पोङ तथा डिसेम्बर ६, ७ र ८ मा सिक्किमका विभिन्न जिल्लामा अडिसन सञ्चालन गरिने आयोजकले जनाएको छ ।

डिजिटल र फिजिकल अडिसन नि:शुल्क रुपमा सञ्चालन हुने बताइएको छ ।

प्रतियोगितामा प्रथम हुनेले भारतिय रकम दश लाख, दोस्रो हुनेले पाँच लाख र तेस्रो हुनेले तीन लाख भारतीय रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

नेपाली भाषी प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्च प्रदान गर्दै उनीहरूको गायन क्षमता र सांगीतिक भविष्यलाई अघि बढाउने प्रतियोगिताको मुख्य उद्देश्य रहेको आयोजकको भनाइ छ ।