दृष्टि गुमाउँदै गएको अनुभवलाई जीवनप्रतिको नयाँ दृष्टिकोणसँग जोडेर तयार पारिएको इजरायली एकल नाटक ‘विदाउट एन इभिल आई’ काठमाडौंमा मञ्चन गरिएको छ।
इजरायलको नेफेस थिएटरको प्रस्तुति तथा नेपालस्थित इजरायली दूतावासको सहजीकरणमा बिहीबार काठमाडौंमा नाटक प्रदर्शन गरिएको हो। करिब एक घण्टा लामो नाटक प्रज्ञा कुञ्जका विद्यार्थी तथा आमन्त्रित पाहुनाले अवलोकन गरेका थिए।
इजरायली कलाकार तथा लेखक आसाफ बेन सिमोनको जीवन अनुभवमा आधारित नाटकमा दृष्टि गुम्दै जाँदाको मानसिक तथा भावनात्मक यात्रालाई हास्य र नाटकीय कथावाचनमार्फत प्रस्तुत गरिएको छ। दृष्टि कमजोर हुँदै गएपछि उनले जीवनलाई हेर्ने दृष्टिकोणमा आएको परिवर्तन र जीवनप्रतिको नयाँ अनुभूतिलाई नाटकको मुख्य विषय बनाइएको छ।
यसअघि उक्त नाटक नोभेम्बर ४ मा इम्पेरियल वर्ल्ड स्कुलले लालाबालासँगको सहकार्यमा आयोजना गरेको ‘थिएटर फेस्टिभल २०२६–सिजन ६’ मा समेत प्रदर्शन गरिएको थियो।
नेपालका लागि इजरायली राजदूत श्मुलिक एरी बासले नाटकले कथा र कलामार्फत देशको सीमाभन्दा बाहिरका मानिसलाई जोड्ने बताए। उनले मानवीय संवेदनशीलता, संघर्ष र जीवनप्रतिको सकारात्मक दृष्टिकोणलाई प्रस्तुत गर्ने इजरायली सिर्जना नेपाली दर्शकमाझ ल्याउन पाउँदा खुसी लागेको बताए।
दूतावासले नेपाल र इजरायलबीच सांस्कृतिक सम्बन्ध विस्तार तथा कलामार्फत आपसी सहकार्य प्रवर्द्धन गर्ने प्रयासअन्तर्गत नाटक प्रदर्शनको सहजीकरण गरेको जनाएको छ।











