काठमाडौँ । इसेवामा भएको सुरक्षा कमजोरीको फाइदा उठाउँदै ‘एआई बट’ प्रयोग गरेर केही निश्चित व्यक्तिहरुले नेपाल प्रिमियर लिग (एनपिएल)को सबै टिकट काटेको खुलासा भएको छ । स्वयम् इसेवाकै कर्मचारीले यो तथ्यको पुष्टी गरेका हुन् ।
इसेवाका ती कर्मचारीका अनुसार यस्तो प्राविधिक कमजोरी इसेवामा पहिलादेखी नै थियो । पटक-पटक कम्प्लेन गर्दा पनि इसेवाका तत्कालीन सिइओ जगदिश खड्काले यो कमजोरी फिक्स गर्न नलगाएको र यस्तो काममा इसेवाकै कर्मचारीकोसमेत मिलेमतो देखिएको छ ।
इसेवामा देखिएको यस्तो समस्याका कारण लुम्बिनी लायन्स र सुदूरपश्चिमका फ्यानहरु ‘ब्ल्याक’मा टिकट किन्न बाध्य भएका छन् । इसेवामा यस्तो कमजोरी भएको बारे क्रिकेट संघमासमेत केही समयअघि नै चर्चा चलेको थियो ।
‘एआई बट’ प्रयोग गरेर निश्चित व्यक्तिहरुले टिकट काटेको सूचनापछि इसेवाका माथिल्लो तहका कर्मचारीहरु फोन नलाग्ने बनाएर बसेका छन् । इसेवामा भएको यस्तो गलत कार्यको चौतर्फी विरोध भइरहेको छ ।














