तेह्रथुम। कोशी प्रदेशको तेह्रथुम जिल्लाको आठराई गाउँपालिका–५, छातेढुङ्गास्थित पोखरी माध्यमिक विद्यालयको खेलमैदानमा यस वर्ष पनि परम्परागत दीपावली मेला आयोजना हुने भएको छ।
२०३९ सालदेखि निरन्तर लाग्दै आएको ऐतिहासिक दीपावली मेला यस वर्ष २०८३ साल कार्तिक २७ गतेदेखि मंसिर ३ गतेसम्म विविध खेलकुद प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रमसहित सञ्चालन हुने भएको हो।
मेलाको उद्घाटन समारोह कार्तिक २७ गते स्थानीय कलाकारहरूको बेजोड सांस्कृतिक प्रस्तुतिसहित विविध मनोरञ्जनात्मक कार्यक्रमका साथ गरिनेछ। उद्घाटनकै अवसरमा फुटबल खेलसमेत सञ्चालन गरिने आयोजकले जानकारी दिएको छ। खेलकुदसँगै मौलिक लोकसंस्कृति, गीत, संगीत र नृत्यका माध्यमबाट मेलालाई थप आकर्षक बनाउने तयारी गरिएको छ।
चार दशकभन्दा लामो इतिहास बोकेको यस मेलाले छातेढुङ्गा क्षेत्रको सामाजिक, सांस्कृतिक तथा खेलकुद पहिचान स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ।
वर्षौंदेखि निरन्तरता पाउँदै आएको मेलाले स्थानीय प्रतिभालाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै नयाँ पुस्तामा मौलिक संस्कार र संस्कृतिप्रतिको अपनत्व बढाउनसमेत सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
दीपावलीको उल्लाससँगै खेलकुदको प्रतिस्पर्धा, सांस्कृतिक प्रस्तुतिको रौनक र स्थानीय मौलिकताको संगमका रूपमा आयोजना हुन लागेको मेलामा सहभागी भई कार्यक्रमलाई भव्य, सभ्य र सफल बनाउन आयोजक समितिले खेलाडी, कलाकार, स्थानीयवासी तथा देशभरका खेलप्रेमी र संस्कृतिप्रेमीहरूमा हार्दिक निमन्त्रणा गरेको छ।
‘खेलकुदको रमाइलोसँगै सांस्कृतिक प्रस्तुतिको अनुपम संगम, आउनुहोस् दीपावली मेलाको महाकुम्भमा सहभागी बनौँ।’














