बिर्तामोड । झापाको बिर्तामोडमा रहेको गोमेन्द्र कलेजले कक्षा ११ मा भर्ना भएका १६० भन्दा बढी नवप्रवेशी विद्यार्थीलाई भव्य कार्यक्रमबीच स्वागत गरेको छ।
किङ्सबेरी होटलमा आज आयोजित विशेष कार्यक्रममा कक्षा १२ का विद्यार्थीहरूले नवप्रवेशी विद्यार्थीलाई स्वागत गर्दै विभिन्न सांस्कृतिक प्रस्तुति तथा मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरेका थिए।

कलेजका संस्थापक निर्देशक उत्तम खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कलेजका संस्थापक स्वर्गीय गणेशप्रसाद खनालको तस्बिरमा माल्यार्पण तथा दीप प्रज्वलन गरी कार्यक्रमको औपचारिक उद्घाटन गरिएको थियो।
कार्यक्रममा कलेजकी प्रिन्सिपल गीता ढकालले आफू गोमेन्द्र कलेजको पहिलो ब्याचको विद्यार्थी रहेको बताउँदै ३० वर्षअघिको शिक्षा प्रणाली र वर्तमान शिक्षा प्रणालीबीच आकाश–पातालको फरक रहेको उल्लेख गर्नुभयो।

अभिभावकले दिएको स्वतन्त्रता र शिक्षामा गरेको लगानीलाई मध्यनजर गर्दै विद्यार्थीलाई जिम्मेवार भएर अध्ययन गर्न उहाँले आग्रह गर्नुभयो।
विद्यार्थीको मनोविज्ञान तथा व्यक्तित्व निर्माणमा साथीभाइको संगतले समेत महत्वपूर्ण भूमिका खेल्ने भएकाले साथी छनोट गर्दा बुझेर मात्रै अघि बढ्न प्रिन्सिपल ढकालले सुझाव दिनुभयो।
साथै, गोमेन्द्र कलेजप्रति विश्वास गरेर आफ्ना छोराछोरी अध्ययनका लागि पठाएकोमा उहाँले अभिभावकलाई धन्यवाद ज्ञापन गर्नुभयो।
प्रिन्सिपल ढकालले कक्षा ११ का नवप्रवेशी विद्यार्थीलाई टीका तथा ब्याज लगाएर स्वागत गर्नुभएको थियो।
कार्यक्रममा कक्षा १२ की विद्यार्थी स्वस्तिका खतिवडाले कक्षा १२ का विद्यार्थीको तर्फबाट नवप्रवेशी विद्यार्थीलाई स्वागत गर्दै कलेजको शैक्षिक वातावरणमा घुलमिल भएर अध्ययनलाई अघि बढाउन शुभकामना दिनुभयो।
यसैगरी शिक्षक विजय क्षेत्रीले गोमेन्द्र कलेजको शैक्षिक विशेषताबारे प्रकाश पार्दै अन्य कलेजभन्दा फरक र पृथक पहिचान बनाउन कलेज सफल भएको बताउनुभयो।
विद्यार्थी, अभिभावक र कलेज प्रशासनबीचको सहकार्यले कलेजलाई पूर्वी झापामा छुट्टै छाप बनाउन सफल बनाएको उहाँको भनाइ थियो।
कार्यक्रममा शिक्षाकर्मी तथा सञ्चारकर्मी सरोज पौडेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुष्प खड्का, कलेजका संस्थापक निर्देशक उत्तम खनाल, प्रिन्सिपल गीता ढकाललगायतले शुभकामना मन्तव्य राख्दै विद्यार्थीलाई अनुशासित, जिम्मेवार र लक्ष्यप्रति प्रतिबद्ध भएर अध्ययन गर्न प्रेरित गर्नुभयो।
कक्षा १२ मा अध्ययनरत रिदिका भण्डारीले आफ्नो अनुभव सुनाउँदै आफूले अपेक्षा गरेभन्दा पनि उत्कृष्ट कलेजका रूपमा गोमेन्द्र कलेजलाई पाएको बताउनुभयो।
गोमेन्द्र कलेजमा कम्प्युटर साइन्स र होटल म्यानेजमेन्ट लगायतका विषयमा कक्षा सञ्चालन हुँदै आएको छ। निश्चित शुल्कमा रोजगारीको ग्यारेन्टीसहित व्यावहारिक तथा रोजगारमुखी शिक्षा प्रदान गर्दै आएको कलेजले पूर्वी झापामा शिक्षाको क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल भएको कलेज प्रशासनको दाबी छ।
कार्यक्रममा उपसल अनलाइनका सम्पादक भरत प्रसाई, कलेजका शिक्षक–शिक्षिका, अभिभावक तथा कक्षा ११ र १२ का विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन कलेजका भाइस प्रिन्सिपल तीर्थ दालले गर्नुभएको थियो।











