बिर्तामोड । डिजिटल प्रविधिको बढ्दो प्रयोगसँगै मानिसको हातमा मोबाइल र सामाजिक सञ्जालको समय बढिरहेको बेला पुस्तकसँगको सम्बन्धलाई पुनः बलियो बनाउने उद्देश्यले झापाको बिर्तामोडमा ‘किताब मेला २०८३’ आयोजना हुने भएको छ।

इशा बुक सेन्टर बिर्तामोड, झापाली साहित्य समाज र साहित्य पत्रकार मञ्च बिर्तामोडको संयुक्त आयोजनामा असोज १६ गतेदेखि ३० गतेसम्म किताब मेला सञ्चालन गर्न लागिएको हो। मेलाको तयारीबारे आयोजकले बुधबार बिर्तामोडमा पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ।

‘यो दशैं दक्षिणामा किताब उपहार’ भन्ने नारासहित आयोजना हुने मेलामा साहित्य, शिक्षा, दर्शन, इतिहासलगायत विभिन्न विधाका ५ हजारभन्दा बढी पुस्तक उपलब्ध हुने मेला संयोजक केशवप्रसाद मैनालीले जानकारी दिनुभयो। पाठकको रुचि र उमेरअनुसारका पुस्तकमा १० देखि ३० प्रतिशतसम्म छुट उपलब्ध गराइने उहाँले बताउनुभयो।

संयोजक मैनालीका अनुसार मेला पुस्तक बिक्रीमा मात्र सीमित रहने छैन। मेलालाई पाठक, लेखक र साहित्यिक क्षेत्रबीचको प्रत्यक्ष संवादको अवसरका रूपमा विकास गर्न विभिन्न साहित्यिक तथा सिर्जनात्मक कार्यक्रमसमेत आयोजना गरिनेछ।

उहाँले सम्बन्धित सरोकारवाला निकाय तथा साहित्यिक संस्थासँग सहकार्य गर्दै कोशी प्रदेशकै ठूलो पुस्तक मेलाका रूपमा कार्यक्रमलाई स्थापित गर्ने तयारी भइरहेको बताउनुभयो।

022222मेलाका क्रममा लेखकसँग प्रत्यक्ष संवाद, कवि गोष्ठी, कविता तथा गजल वाचन, साहित्यिक अन्तरक्रिया र लक्की ड्रलगायतका कार्यक्रम सञ्चालन हुने आयोजकले जनाएको छ।

मेला अवधिभर विभिन्न साहित्यिक गतिविधि सञ्चालन हुने भएकाले पुस्तकप्रेमी, विद्यार्थी, अभिभावक तथा साहित्यमा रुचि राख्नेहरूका लागि मेला उपयोगी हुने आयोजकको विश्वास छ।

साहित्य पत्रकार मञ्चका उपाध्यक्ष रविकिरण बान्तवाले किताब मेला पुस्तक किन्ने र बेच्ने स्थानमा मात्र सीमित नराखी मानिसलाई पुनः पुस्तक पढ्ने वातावरण निर्माण गर्ने अभियानका रूपमा अघि बढाउनुपर्ने बताउनुभयो।

उहाँले पछिल्लो समय डिजिटल सामग्रीमा बढेको निर्भरतालाई सन्तुलित गर्दै पुस्तक पढ्ने संस्कारलाई नयाँ पुस्तासम्म पुर्‍याउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभयो।

त्यस्तै, झापाली साहित्य समाजका सचिव विवेक निशानीले मेला आम मानिसमा पठन संस्कृतिको सुरुवात गर्ने अवसर बन्नुपर्ने बताउनुभयो। उहाँका अनुसार पुस्तक पढ्ने संस्कारलाई घर, विद्यालय र समुदायसम्म विस्तार गर्न सके त्यसले व्यक्तिको ज्ञान, सोच र सिर्जनशीलता विकासमा योगदान पुर्‍याउने भएकाले मेलालाई सबै वर्गको सहभागितासहित अघि बढाउन आवश्यक छ।

मेलाका सहयोगी संस्थाका रूपमा बिर्तामोड रिडर्स क्लब  रहेको आयोजकले जनाएको छ।

पत्रकार सम्मेलनमा साहित्यकार तथा सञ्चारकर्मी लीला अनमोल, पत्रकार गोपाल काफ्ले, कृष्ण मिश्र, दुर्गाप्रसाद सिग्देल र धमेन्द्र भट्टराई ‘मामा’ लगायतले किताब मेलालाई थप प्रभावकारी बनाउन विभिन्न सुझाव दिनुभएको थियो।

बिर्तामोडमा आयोजना हुँदै आएको किताब मेलाको यो चौथो संस्करण हो। आयोजकले यसपटकको मेलालाई पुस्तकप्रेमीका लागि पुस्तक खरिद गर्ने अवसरसँगै साहित्यिक भेटघाट, सिर्जना प्रस्तुति र लेखक–पाठक संवादको साझा थलोका रूपमा विकास गर्ने लक्ष्य लिएको जनाएको छ।

मेलाका सहयोगी संस्थाका रूपमा बिर्तामोड रिडर्स क्लब र सुर्न रहेको आयोजकले जनाएको छ। पत्रकार सम्मेलनमा साहित्यकार तथा सञ्चारकर्मी लीला अनमोल, पत्रकार गोपाल काफ्ले, कृष्ण मिश्र, दुर्गाप्रसाद सिग्देल र धमेन्द्र भट्टराई ‘मामा’ लगायतले किताब मेलालाई प्रभावकारी बनाउन विभिन्न सुझाव दिएका थिए।

कार्यक्रमको सञ्चालन पत्रकार भरत प्रसाईंले गर्नुभएको थियो।