काठमाडौँ– अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा भएको आर्थिक अनियमितता र खेल मिलेमतोसम्बन्धी अनुसन्धान टुङ्ग्याउँदै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ ।
अनुसन्धानबाट ६६ लाख ५३ हजार रुपैयाँ बराबरको अनियमितता भएको निष्कर्षसहित सिआइबीले बुधबार सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको हो ।
प्रतिवेदनमा एन्फाका अध्यक्ष पङ्कजविक्रम नेम्वाङ, महासचिव किरण राई, कोषाध्यक्ष रवीन्द्र जोशी र लेखापाल सञ्जीव पाण्डेलाई प्रतिवादी बनाउन सिफारिस गरिएको सीआईबीका प्रवक्ता अनुपमशमशेर जबराले जानकारी दिए ।
‘अनुसन्धानका क्रममा प्राप्त प्रमाण र कागजातको अध्ययनबाट ६६ लाख ५३ हजार अनियमितता भएको देखिएको छ । त्यसका आधारमा उनीहरुलाई प्रतिवादी कायम गरी मुद्दा चलाउन सिफारिस गरिएको हो,’ प्रवक्ता जबराले भने ।














