बिर्तामोड । झापाको बिर्तामोडमा सञ्चालन भइरहेको ‘किताब मेला २०८३’ को तेस्रो दिन नेपाली भाषा, साहित्य लेखन र सौन्दर्यशास्त्रका विविध पक्षमाथि बौद्धिक संवाद तथा अन्तरङ्ग साहित्यिक कार्यक्रम सम्पन्न भएको छ।


साहित्य पत्रकार मञ्च झापा, झापाली साहित्य समाज तथा ईसा बुक प्रकाशनको संयुक्त आयोजनामा भइरहेको किताब मेलाअन्तर्गत आयोजित कार्यक्रममा नेपाली साहित्य समालोचना तथा दर्शनका अध्येता महेश पौडेल र प्रा.डा. अरुण गुप्ताले ‘नेपाली भाषा तथा साहित्य लेखनमा सौन्दर्यताको महत्त्व’ विषयमा विचार–विमर्श गरेका थिए।


साहित्यकार तुलसीप्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न ‘लेखकसँग साहित्य संवाद’ कार्यक्रममा साहित्य लेखनमा सौन्दर्यबोध, भाषिक शिल्प, सिर्जनात्मकता तथा साहित्यलाई प्रभावकारी बनाउने विविध पक्षमाथि छलफल गरिएको थियो।

कार्यक्रमको सहजीकरण तथा प्रस्तुति साहित्य पत्रकार मञ्चका संयोजक एवं झापाली साहित्य समाजका अध्यक्ष हरि बरालले गरेका थिए।


कार्यक्रममा लेखक, साहित्यकार, शिक्षक, पत्रकार तथा साहित्यप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। साहित्यिक लेखन र पत्रकारितामा सक्रिय लेखक तथा सर्जकहरूलाई गोलबद्ध गर्दै साहित्य पत्रकार मञ्चले विभिन्न समयमा साहित्यिक गतिविधिको नेतृत्व तथा सहजीकरण गर्दै आएको संयोजक बरालले बताए।

कार्यक्रममा साहित्यकार तथा लेखक मुक्ति अस्तित्व, साहित्यकार, लेखक तथा शिक्षक धर्मेन्द्र मामा भट्टराई, साहित्यकार तथा शिक्षक  डि .पी शर्मा,व्यवसायी तथा सञ्चारकर्मी अर्जुन उप्रेती, अर्जुन दुलाल,  कृष्णप्रसाद दुलाल, रत्नश्री मिश्र, रेखा सापकोटा, विवेक निशानी, तोयानाथ रेग्मी, साहित्य पत्रकार मञ्चका सचिव तथा किताब मेला २०८३ का मिडिया संयोजक भरत प्रसाईं, साहित्यकार ज्ञानु बुढाथोकी, गीता सुवेदी, नेपाल चित्रदेव कट्टेल, रञ्जित थापा, इन्द्र बास्तोला, नेल्टा झापाका अध्यक्ष प्रकाश पराजुली, साहित्यकार तथा लेखक विनोद खनाल, शिक्षक तथा नेल्टाका प्रतिनिधि केशव उप्रेती, साहित्यकार तथा गजलकार लीला अनमोल, साहित्यकार हेम अधिकारी, साहित्यकार चित्रा पौडेललगायत विभिन्न लेखक तथा साहित्यकारहरूको उपस्थिति रहेको थियो।


बिर्तामोडस्थित ईसा बुक स्टेशनरीको छेउमा रहेको ‘द स्यान्डविच पोइन्ट क्याफे’मा सम्पन्न साहित्य संवादले साहित्यकार तथा विद्यार्थीहरूलाई आफ्नो लेखनलाई थप परिष्कृत र प्रभावकारी बनाउन महत्वपूर्ण सहयोग पुगेको कार्यक्रम संयोजक तुलसीप्रसाद भट्टराईले बताए।

किताब मेला तेस्रो दिनमा प्रवेश गर्दा हालसम्म ४ सय ९० जनाले मेला अवलोकन गरिसकेको र १ सय २ जनाले आफूलाई मनपर्ने पुस्तक खरिद गरेको मेला संयोजक केशवप्रसाद मैनालीले जानकारी दिए।

‘समाजमा पठन संस्कृति हराउँदै गएको अवस्थामा उत्सवको उपहार सबैलाई किताबको बहार’ भन्ने मूल नारासहित आयोजना गरिएको किताब मेलाको यो चौथो संस्करणले पठन तथा लेखन संस्कृतिको विकासका लागि सकारात्मक वातावरण निर्माण गर्ने आयोजकको विश्वास छ।


पठन संस्कृति कमजोर हुँदै गएको वर्तमान अवस्थामा पुस्तकप्रति आकर्षण बढाउन तथा लेखक, पाठक, प्रकाशक र साहित्यिक संस्थाबीचको सम्बन्धलाई थप सुदृढ बनाउन किताब मेला महत्वपूर्ण माध्यम बन्ने संयोजक मैनालीले बताए। उनका अनुसार मेलाले सम्बन्धित निकायसँगै पठन तथा लेखनसँग जोडिएका सम्पूर्ण समुदाय र प्रबुद्ध वर्गलाई यस विषयमा थप गम्भीर भएर सोच्न घचघच्याउने अपेक्षा गरिएको छ।