बिर्तामोड । साहित्य चौतारी झापा नेपालका प्रथम संस्थापक संरक्षक तथा वर्तमान अध्यक्ष देवीभक्त श्रेष्ठले आफ्नो जेठा छोरा गौरव श्रेष्ठको शुभविवाहको अवसर पारेर अर्जुनधारा नगरपालिका–स्थित सोनीसरीमा रहेको दुर्गा मन्दिरमा भक्तजनको सुविधाका लागि दुईवटा धारा जडान गरिदिने घोषणा गर्नुभएको छ।


एक कार्यक्रमका बीच आज घोषणा गर्दै श्रेष्ठले विवाहजस्तो शुभ अवसरमा उत्सव मनाउनुका साथै समाज र धर्मका क्षेत्रमा केही पुण्यको काम गर्ने अभिलाषाले मन्दिरमा धारा जडान गरिदिने निर्णय गरेको बताउनुभयो। उहाँको यस घोषणाले मन्दिरमा दर्शन तथा पूजाआजाका लागि आउने भक्तजनलाई पानीको सुविधा पुग्ने अपेक्षा गरिएको छ।

011111श्रेष्ठले लामो समयदेखि आफ्नो क्षमता र दक्षताअनुसार सामाजिक तथा धार्मिक क्षेत्रमा आर्थिक सहयोग गर्दै आउनुभएको छ। पूर्वको जलेश्वर धामका रूपमा परिचित अर्जुनधारा जलेश्वर धामको मन्दिर निर्माणका लागि समेत उहाँले ५१ हजार रुपैयाँभन्दा बढी आर्थिक सहयोग गर्नुभएको थियो। सामाजिक तथा धार्मिक कार्यमा निरन्तर योगदान पुर्‍याउँदै आउनुभएका श्रेष्ठको यस घोषणालाई स्थानीयस्तरमा प्रशंसनीय कार्यका रूपमा लिइएको छ।

घोषणा कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कमलमणि प्रधानले श्रेष्ठले संगीतका माध्यमबाट र विभिन्न आर्थिक सहयोगमार्फत अर्जुनधारा नगरपालिकाभित्र उदाहरणीय तथा प्रशंसनीय कार्य गर्दै आउनुभएको बताउनुभयो।

उहाँले सामाजिक र धार्मिक क्षेत्रमा श्रेष्ठले पुर्‍याउनुभएको योगदानको प्रशंसा गर्दै उहाँका छोरा गौरव श्रेष्ठलाई सुखद वैवाहिक जीवनको शुभकामना दिनुभयो। साथै, नवदम्पतीको उत्तरोत्तर प्रगतिको कामना पनि गर्नुभयो।

कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका सदस्य कृष्ण पौडेललगायत साहित्य चौतारीका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।


छोराको विवाहजस्तो पारिवारिक खुसीको अवसरलाई सामाजिक तथा धार्मिक सेवासँग जोड्दै श्रेष्ठले गर्नुभएको घोषणाले विवाहका अवसरमा सामाजिक उत्तरदायित्व निर्वाह गर्ने सकारात्मक सन्देश दिएको छ।