इलाम । इलाममा अनलाइन पत्रिकामा कार्यरत पत्रकारलाई प्रोत्साहन गर्ने उदेश्यले नयाँ बुलन्द अनलाइन पत्रकारिता पुरस्कार स्थापना भएको छ ।
बुलन्द मल्टिटेक्नीकल प्रालिले पुरस्कार स्थापना गरेको हो । इलाममा मल्टिमिडिया सम्वन्धी तालिम आयोजना गरेको थियो ।
सो तालिमसँगै मल्टिमिडियामा पत्रकारहरुको रुची बढाउने उदेश्यले पुरस्कार स्थापना गरिएको हो । बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिका अध्यक्ष राम योङ्हाङले पुरस्कारले यस सम्वन्धि पत्रकारहरुमा नयाँ रुची बढ्ने भएकाले पुरस्कार स्थापना गरिएको बताउनुभयो ।
सो पुरस्कार नगद १० हजार रहेको बताइएको छ ।
आगामी सालदेखि नयाँ बुलन्दको वार्षिक उत्सवको अवसरमा बर्सेनि एकजना अनलाइन पत्रकारलाई पुरस्कृत गरिने सम्पादक योङहाङले बताउनुभयो ।
वार्षिक उत्सवको अवसरमा नयाँ बुलन्दले प्रकाशन गरेको सन्देशमूलक वार्षिक भित्तेपात्रो (क्यालेण्डर) २०८० सार्वजनिक भएको छ ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भिषण राई, प्रदेश अध्यक्ष लिलाबल्लव घिमिरे, इलाम अध्यक्ष विप्लव भट्टराईसहित उपस्थित जिल्लाका संचारकर्मीहरुले संयुक्त रुपमा सार्वजनिक गर्नु भएको हो ।
बुलन्दले नया बुलन्द अनलाइन समेत सञ्चालन गरिरहेको छ । सो मिडियाले समेत सातौँ वार्षिक उत्सव मनाएको छ ।
बक्ताहरुले नागरिकलाई सूचना प्रदान गर्न पहरेदार बन्दै समाजमा व्याप्त भ्रष्टाचार, कालोबजारी, अनियमितता जस्ता नराम्रा पक्षलाई निरुत्साहित गर्दै सत्य, तथ्य र निष्पक्ष सूचना आम नागरिकसामू पुर्याउन सुझाव दिएका थिए ।
सो मिडियाले चारदिने मल्टिमिडिया सम्वन्धि तालिम समापन समेत गरेको छ ।
कार्यक्रममा जिल्लास्थित विभिन्न संचार संस्थामा कार्यरत संचारकर्मीहरुको उपस्थिति थियो । सोही अवसरमा चेतनामुलक भित्तेपात्रो समेत सार्वजनिक गरिएको थियो ।














