काठमाडौं, ८ भदौ । पोखराबाट काठमाडौंतर्फ शुक्रबार आउँदै गरेको यात्रुबाहक बस सडकबाट मर्स्याङ्दी नदीमा खसेर मृत्यु भएका २७ मध्ये २५ जना भारतीयको शव वायुसेनाको जहाजमार्फत लगिएको छ ।

शनिबार दिउँसो चितवनस्थित भरतपुर विमानस्थल आइपुगेको भारतीय वायुसेनाको केसी ३८१० नम्बरको विमानले २५ वटा शव भारत लगेको हो । चालक र सहचालकको शव उत्तर प्रदेश गोरखपुर घर भएकाले शव बहानमार्फत पठाइएको छ ।

भारतकी युवा मामिला तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्सेले समेत यही विमानमार्फत भारत फर्किनुभएको छ ।

शनिवार राज्यमन्त्री खड्सेले काठमाडौं आएर घाइतेहरुसँग भेट गर्नुभएको थियो । त्यसपछि भरतपुर गई शव जिम्मा लिएर भारत लिएर जानुभएको हो ।

पोखराबाट काठमाडौं आउँदै गरेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस तनहुँ आबुखैरेनीमा भएको बस दुघर्टनामा परी २७ भारतीयको मृत्यु भएको । ४३ जना सवार बसमा दुर्घटनामा घाइते १६ जनाको काठमाडौंमा उपचार भइरहेको छ । आँबुखैरेनी गाउँपालिका- २ ऐना पहराबाट शुक्रबार बिहान मर्स्याङ्दी नदीमा खसेको थियो ।

बसमा यात्रु ४१ र चालक तथा सहचालक एकएक गरी ४३ जना सवार थिए ।