हाइनान ।  चीनको दक्षिणमा रहेको एक लोकप्रिय पर्यटक टापु पछिल्लो एक दशकको सबैभन्दा शक्तिशाली समुद्री आँधीबाट प्रभावित भएको छ । आँधीका कारण यो क्षेत्रले विनाशकारी हावाहुरी र मुसलधारे वर्षाको सामना गरिरहेको छ।

सुपर टाइफुन यागी शुक्रबार स्थानीय समय अनुसार ४ बजे २२३ किलोमिटर प्रति घण्टाको रफ्तारका साथ हाइनान टापुको उत्तर-पूर्वमा रहेको वेनचाङ सहरमा प्रवेश गरेको थियो ।

४६ जनाको ज्यान जाने गरी सन् २०१४ मा आएको राममासुनपछि हाइनानमा प्रवेश गर्ने यागी सबैभन्दा शक्तिशाली समुद्री आँधी हो ।

चीनको मौसम एजेन्सीले शरद ऋतुमा आएको यो सबैभन्दा शक्तिशाली आँधी भएको बताएको छ।

यागीको आगमन अघि हाइनान टापुका करिब चार लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको थियो। रेल, डुङ्गा र उडानहरू निलम्बित गरियो भने स्कुलहरू बन्द गरियो ।