काठमाडौं :  छिमेकी भारतले आइतबारबाट सोलार आवर अर्थात् (दिउँसो १२ घण्टा) मात्र बिजुली दिने भएको छ। मुलुकमा बिजुलीको उच्च माग हुने साँझ र रातको समयमा भारतको बिजुली आउने छैन।

भारतबाट बिजुली नआउँदा रातको समयमा सञ्चालन हुने उद्योग–कारखानामा प्रत्यक्ष असर पर्नेछ। भारतसँग नयाँ बिजुली विनिमय दर लागू हुन नसक्दा भारतबाट साँझ र रातिको समयमा बिजुली आयात बन्द हुन लागेको हो।

नेपाल विद्युत् प्राधिकरण र ऊर्जा मन्त्रालयबीच विवादका कारण अप्रिलबाट नेपाल आयात हुने बिजुलीको दर स्वीकृत हुन सकेको छैन। यसका लागि नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठक पनि पुसदेखि बस्न सकेको छैन। भारतसँग सम्झौता भएको नयाँ विद्युत् विनिमय दर प्राधिकरण बोर्ड बैठकले अनुमोदन गरेपछि विद्युत् नियमन आयोगलाई स्वीकृतिका लागि प्रस्ताव पेस गर्नुपर्ने हुन्छ। आयोगको स्वीकृतपछि भारतसँगको नयाँ बिजुली विनिमय दर लागू हुने र आगामी अप्रिलबाट बिजुली आयात हुने प्रक्रिया हो। प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहेका ऊर्जामन्त्री दीपक खड्काले विद्युत् विनिमय दरमा असन्तुष्टि जनाएको प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोष बताउँछन्। यो विषय अहिले मन्त्रिपरिषद्मा पुगेको छ। 

हाल मुलुकमा साँझको उच्च माग १९ सय मेगावाट छ। उत्पादन भने १७ सय मेगावाटमात्रै छ। भारतबाट दिउँसोको समयमा ६०० मेगावाट आयात भइरहेको छ। साँझको समयमा भारतबाट १ सय ५० देखि २ सय मेगावाट र रातिको समयमा ४ सय मेगावाट आयात हुने गरेको छ।