बिर्तामोड, झापा । फरक क्षमता भएका (अपाङ्गता भएका) व्यक्तिहरूको लुकेको प्रतिभा उजागर गर्ने उद्देश्यले भारतको सिक्किममा ‘झूम इन्टरनेशनल’ नामक अन्तर्राष्ट्रिय प्रतिभा प्रतियोगिता आयोजना हुने भएको छ।
यसमा पहिलोपटक नेपालका फरक क्षमता भएका व्यक्तिहरूलाई पनि सहभागी गराइने भएकाे छ।
शान्तिधाम फाउन्डेसनको आयोजनामा र सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) को संस्कृति विभाग तथा सैयता फाउन्डेसनको सहकार्यमा हुन लागेको प्रतियोगिताको नवौँ संस्करणमा नेपाल, भारत र भुटानका प्रतिभाशाली व्यक्तिहरू प्रतिस्पर्धामा उत्रिनेछन्।
कार्यक्रमलाई प्रतिभाको नवीन स्वरुपको खोजीका रुपमा प्रस्तुत गरिएको छ। यसमा गायन, नृत्य, अभिनय, चित्रकला, हस्तकला, साहित्य, कविता वाचन, जादु, कमेडी लगायतका विभिन्न विधामा प्रतिस्पर्धा हुनेछ। सहभागीहरूले जुनसुकै भाषामा आफ्ना प्रस्तुति पस्कन पाउनेछन्।
प्रतियोगिताको पहिलो चरण डिजिटल अडिसनमार्फत हुने छ। सहभागीहरूले न्यूनतम ९० सेकेन्डदेखि अधिकतम २–३ मिनेटसम्मको उच्च गुणस्तरको लयाण्ड्क्याप भिडियो तयार गरी पठाउनुपर्नेछ। भिडियो २०८२ असोज ९ (२५ सेप्टेम्बर २०२५) भित्र पठाइसक्नुपर्नेछ। सहभागीले डिजिटल अडिसनका लागि [email protected] मा इमेल वा +91-9832399993 मा वाट्सएपमार्फत भिडियो पठाउन सक्नेछन्। त्यस्तै नेपाल सम्पर्कका लागि नेपाल समन्वय संयोजक सुनिता तामाङलाई 9842755054 मा सम्पर्क गर्न सकिने छ ।
डिजिटल अडिसनबाट छनोटमा परेकालाई सिक्किम बोलाइनेछ र त्यहाँ प्रत्यक्ष प्रतिस्पर्धा हुनेछ। सिक्किममा हुने प्रत्यक्ष प्रतिस्पर्धामा छनोट भएका प्रतिभाको खान, बस्नलगायत सम्पूर्ण खर्च आयोजक संस्थाले नै बेहोर्ने छ । यसले सीमित आर्थिक पहुँच भएका फरक क्षमता भएका व्यक्तिहरूलाई सहज र समान अवसर दिने अपेक्षा गरिएको छ।














