झापा । भक्का दिवसको अवसरमा आयोजित कार्यक्रममा राजवंशी समुदायका अगुवा अभय राजवंशीले झापा जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित विभिन्न धर्म र सम्प्रदायलाई लक्षित गर्दै आक्रामक तथा आपत्तिजनक टिप्पणी गरेपछि प्रहरीले अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिएको छ।

कार्यक्रमका क्रममा प्रमुख जिल्ला अधिकारीमाथि गालीगलौजसमेत भएको भन्दै जिल्ला प्रशासन कार्यालयको आदेशअनुसार इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी निरीक्षक देवराज निरौलाको कमाण्डमा प्रहरी टोलीले अभय राजवंशीलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार अभय राजवंशीलाई नियन्त्रणमा लिने क्रममा अभद्र व्यवहार गरेको आरोपमा बिर्तामोड नगरपालिका–४ निवासी ४२ वर्षीया सबिना राजवंशी र ४१ वर्षीय रमेश राजवंशीलाई समेत नियन्त्रणमा लिइएको छ।

नियन्त्रणमा लिएका अभय राजवंशीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापा लगिएको छ भने रमेश राजवंशीलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको प्रहरीले जनाएको छ। सबिना राजवंशीको विषयमा समेत आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।

यसअघि अभय राजवंशीले सार्वजनिक मञ्चबाट प्रमुख जिल्ला अधिकारीमाथि दिएको अभिव्यक्ति सामाजिक सञ्जाल र सार्वजनिक वृत्तमा व्यापक आलोचनाको विषय बनेको थियो।