झापा, १३ माघ । एसियाली राष्ट्रहरूलाई सडक सञ्जालमार्फत जोड्ने लक्ष्यसहित अघि बढाइएको ‘एसियन हाइवे’ परियोजनाको काँकडभिट्टा–लौकही खण्डमा निर्माण कार्यले गति लिएको छ। दुई वर्षअघि सुरु भएको आयोजनामा हालसम्म करिब ३५ प्रतिशत भौतिक प्रगति हासिल भएको आयोजना कार्यालयले जनाएको छ।

आयोजना अन्तर्गत झापाको पाडाजुगीबाट पश्चिमतर्फको सडकमा आइतबारदेखि पहिलो चरणको एक लेन कालोपत्र सुरु गरिएको पश्चिम खण्ड इटहरी कार्यालयका प्रमुख जगत प्रजापतिले जानकारी दिए। उनका अनुसार एसियन राजमार्ग नम्बर–२ अन्तर्गत पर्ने काँकडभिट्टा–लौकही खण्डको कुल लम्बाइ १२० किलोमिटर भए पनि हाल ९५.७६ किलोमिटर सडकमा मात्रै ठेक्का सम्झौता भई काम भइरहेको छ।

सडकलाई पूर्वी र पश्चिमी दुई खण्डमा विभाजन गरेर निर्माण अघि बढाइएको छ। हालसम्म दुवै खण्डमा गरी करिब २० किलोमिटर सडकमा एकतर्फी पहिलो चरणको कालोपत्र सम्पन्न भइसकेको आयोजनाले जनाएको छ।

पूर्वी खण्ड दमक कार्यालयका प्रमुख सुनीलबाबु पन्तका अनुसार पूर्वी भागमा पनि करिब ३५ प्रतिशत काम पूरा भएको छ। निर्माण सामग्रीको आपूर्ति सहज भए काम अझ तीव्र गतिमा अघि बढ्ने उनको भनाइ छ। उनले पूर्वी खण्डमा विद्युत् खम्बा सार्ने काम करिब ८० प्रतिशत सकिएको जानकारी दिँदै पश्चिम खण्डमा भने यो काम करिब ४० प्रतिशत मात्रै पूरा भएको बताए।

ठूला पुल निर्माणतर्फ पूर्वी खण्डमा २३ प्रतिशत र पश्चिम खण्डमा २५ प्रतिशत प्रगति भएको आयोजनाको तथ्यांक छ। बजार क्षेत्रका केही स्थानमा खम्बा सार्ने काम बाँकी रहेको कार्यालयले जनाएको छ।



IMG_5484

एसियन हाइवे थाइल्याण्डको बैंककबाट सुरु भई म्यान्मा, बङ्गलादेश, भारत हुँदै नेपालको काँकडभिट्टा प्रवेश गर्छ र पूर्व–पश्चिम राजमार्ग हुँदै भारतको दिल्ली र पाकिस्तानको कराँचीसम्म पुग्ने अन्तर्राष्ट्रिय मार्ग हो।

तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्यका साथ एसियाली विकास बैंकको आर्थिक सहयोगमा विसं २०८० माघ १९ गतेदेखि निर्माण कार्य सुरु गरिएको हो। करिब ३० करोड अमेरिकी डलर लागत अनुमान गरिएको यो सडक परियोजना बजार, जङ्गल र ग्रामीण क्षेत्र गरी तीन वर्गमा विभाजन गरेर निर्माण गरिँदैछ। बजार क्षेत्रमा ५० मिटर, जङ्गल क्षेत्रमा २४ मिटर र ग्रामीण क्षेत्रमा ३३ मिटर चौडाइको सडक बनाइने योजना रहेको छ।