भरत प्रसाई , विश्वभर सिमसार क्षेत्रको संरक्षण र महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले यो दिवस मनाइँदै आएको छ । सिमसार क्षेत्रहरूलाई ‘पृथ्वीको मिर्गौला’ भनिन्छ, किनकि यी क्षेत्रहरूले फोहोर पानीमा मिसिएका रसायनहरू प्राकृतिक रूपमा छानेर पानीलाई स्वच्छ बनाउने काम गर्छन् ।
यसका साथै सिमसारले बाढी नियन्त्रण, भूमिगत पानी पुनर्भरण, जलवायु सन्तुलन र जैविक प्रणालीको संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउँछन् ।
नेपाल जैविक विविधताले सम्पन्न मुलुक हो । यहाँ ठूला–साना गरी करिब चार हजार सिमसार क्षेत्र रहेको अध्ययनहरूले देखाएका छन् ।
तीमध्ये घोडाघोडी ताल, रारा ताल, कोशी टप्पु वन्यजन्तु आरक्ष, बीसहजारी ताल, जगदीशपुर जलाशय, शे–फोक्सुन्डो ताल, माई पोखरी तथा पोखरा महानगरका नौवटै ताल विश्व रामसार सूचीमा सूचीकृत छन् । यी सिमसार क्षेत्रहरू केवल प्राकृतिक सौन्दर्यका धरोहर मात्र होइनन्, स्थानीय समुदायको जीविकोपार्जन र राष्ट्रिय पर्यावरणीय सुरक्षाका आधार पनि हुन् ।
सिमसारको विश्वव्यापी संरक्षणका लागि सन् १९७१ मा इरानको रामसार शहरमा ‘जल पन्छीको वासस्थानसम्बन्धी सिमसार महासन्धि’ सम्पन्न भएको थियो ।
हाल यस महासन्धिमा १६९ देश सहभागी छन् । नेपालले पनि सिमसार क्षेत्रको महत्त्व आत्मसात् गर्दै सन् १९८८ मा औपचारिक रूपमा यस महासन्धिमा सहभागिता जनाएको हो ।
राष्ट्रिय सिमसार नीति, २०५९ अनुसार नेपालको तराई क्षेत्रमा मात्र ३२ प्रजातिका स्तनधारी जनावर, ४६१ प्रजातिका चराहरू, ९ प्रजातिका कछुवा, २० प्रजातिका सर्प र २८ प्रजातिका माछा पाइन्छन् ।

सिमसार क्षेत्रहरू प्रवासी चराहरूका लागि पनि महत्वपूर्ण बासस्थान हुन् । अध्ययनअनुसार बच्चा कोरल्न रुसको साइबेरियादेखि चराहरू नेपालका सिमसार क्षेत्रमा आउने गर्छन् ।
यति ठूलो पर्यावरणीय महत्त्व हुँदाहुँदै पनि नेपालका धेरै सिमसार क्षेत्र आज संकटमा परेका छन् । अविवेकी सहरीकरण, बस्ती विस्तार, प्लटिङ, होटल तथा उद्योग निर्माण, साथै भूमिगत पानीको अत्यधिक दोहनले सिमसार क्षेत्र क्रमशः सुक्दै र खुम्चिँदै गइरहेका छन् । पोखराका तालहरू यसको ज्वलन्त उदाहरण हुन्, जहाँ हरेक वर्ष तालको क्षेत्रफल घट्दै जानु र वरपर बस्ती बढ्दै जानु गम्भीर चिन्ताको विषय बनेको छ ।
सरकारले सिमसारको संरक्षण र बुद्धिमत्तापूर्ण प्रयोगका लागि नीति तथा कानुनी संरचना तयार गरिसकेको छ । सिमसार कोष स्थापना, सचिवस्तरीय समन्वय कार्यदल तथा दिगो उपयोगका कार्यक्रमहरू अघि सारिए पनि प्रभावकारी कार्यान्वयन हुन सकेको देखिँदैन । कमजोर अनुगमन र कानुनी कडाइको अभावले गर्दा अतिक्रमण र दोहन रोक्न सकिएको छैन ।
सिमसार क्षेत्रको संरक्षण केवल सरकारी दायित्व मात्र होइन, यो सम्पूर्ण समाजको साझा जिम्मेवारी हो । आउँदो पुस्तालाई सुरक्षित, स्वच्छ र सन्तुलित वातावरण हस्तान्तरण गर्न आजैदेखि सिमसार संरक्षणमा गम्भीर बन्नु आवश्यक छ । प्राकृतिक स्रोतको संरक्षण बिना मानव सभ्यताको भविष्य सुरक्षित रहन सक्दैन ।
विश्व सिमसार दिवसको अवसरमा सिमसारको महत्त्वबारे चेतना फैलाउँदै यसको संरक्षणमा सबै पक्षको सक्रिय सहभागिता अपरिहार्य भएको सन्देश प्रवाह गरिनु आजको आवश्यकता हो ।














