इरानले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायलका प्रधानमन्त्री बिन्यामिन नेतन्याहु मार्नेलाई पुरस्कार दिने विषयमा छलफल गरिरहेको छ।
द टेलिग्राफको रिपोर्टअनुसार यसका लागि इरानको संसद्अन्तर्गत राष्ट्रिय सुरक्षा आयोगले विधेयक तयार गरिरहेको छ। जसमा ट्रम्प वा नेतन्याहुको हत्या गर्ने व्यक्ति वा संस्थालाई ४ करोड ३५ लाख पाउन्ड स्ट्रलिङ अर्थात् नेपाली रुपैयाँ झन्डै ९ अर्ब (८ अर्ब ९५ लाखभन्दा बढी) इनाम दिने प्रस्ताव गरिएको छ।
आयोगका प्रमुख इब्राहिम अजिजीले भनेका छन्, ‘इस्लामिक गणतन्त्रको सैन्य र सुरक्षा बलद्वारा जवाफी कारबाही शीर्षकमा विधेयक तयार भइरहेको छ, जसले ट्रम्प वा नेतन्याहुलाई मार्ने कुनै पनि व्यक्ति वा संस्थालाई ४ करोड ३५ लाख पाउन्ड स्ट्रलिङ दिने कुरालाई औपचारिकता दिनेछ।’
इरानका सांसद महमुद नबाभियनका अनुसार संसद्ले यो विधेयकमा चाँडै मतदान गर्ने सम्भावना छ।
टेलिग्राफको रिपोर्टअनुसार इरानले अमेरिका र इजरायलले गत फेब्रुअरीमा संयुक्त हवाई हमला गरी आफ्ना तत्कालीन सर्वोच्च नेता अयातोल्लाह अली खामेनीसहित धेरै जना सैन्य अधिकारी तथा राजनीतिक नेता मारेपछि बदला लिन यो विधेयक ल्याएको हो।
यसैबिच अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आज (मंगलबार) इरानमा सुरु गर्न लागिएको योजनाबद्ध आक्रमण कतार, साउदी अरेबिया र यूएईजस्ता खाडी देशको अनुरोधमा स्थगन गरिएको दाबी गरेका छन्।
उता जवाफमा इरानको रिभोलुसनरी गार्डका पूर्वकमान्डर मोहसिन रेजाईले एक्समा लेखेका छन्, ‘उनी आफैँ सैन्य हमलाको मिति तोक्छन्, फेरि आफैँ रद्द गर्छन्। यो अर्थहीन अपेक्षा हो कि इरानी जनता र अधिकारीले आत्मसमर्पण गर्नेछन्। शक्तिशाली सेना र महान् इरानी जनताको साहसले उनीहरूलाई पछि हट्न र हार स्वीकार गर्न बाध्य पार्नेछ।’














