पवन ढकाल बुद्धशान्ति ।
नेपालमा जंगली जनावरको आतंक अहिले राष्ट्रिय बहसको विषय बन्दै गएको छ। तराई क्षेत्रमा हात्ती, चितुवा लगायत वन्यजन्तुको आक्रमणबाट हरेक वर्ष सयौं मानिस घाइते हुने, ज्यान गुमाउने तथा घरगोठमा क्षति पुग्ने घटनाहरू सार्वजनिक भइरहेका छन्। तर पहाडी तथा चुरे क्षेत्रका किसानले वर्षौंदेखि भोग्दै आएको “बादर आतंक” भने अझै राज्यको गम्भीर ध्यानमा पर्न सकेको छैन।

विशेषगरी चुरे आसपासका गाउँहरूमा मृग, दुम्सी, बँदेल, चितुवा र बादरले खेतीपातीमा ठूलो क्षति पुर्याइरहेका छन्। तर यस्ता जनावरले कृषिमा पुर्याएको क्षतिको आधिकारिक तथ्यांकसमेत राज्यसँग छैन। किसानहरूका अनुसार समस्या वर्षेनि बढ्दो क्रममा छ, तर समाधान भने शून्यजस्तै छ।पटक–पटकको प्रयासपछि पनि केही उपाय नगरिएका भने होइनन् । तर, हरेक पालिकालाई यस समस्या समाधानका लागि कसरी सहयोग गर्ने ? के हामीले नसकेकै हौं ? अथवा हाम्रा प्रयास कहाँ विफल भइरहेका छन् ? यी प्रश्न अनुत्तरित छन् । पहाडमा बाँदरले मकै खाइदिएर दुःख दिएका घटना हाम्रा हजुरबाको पालादेखिकै हो । मध्य पहाडी क्षेत्रमा बाँदरको उपद्रव पहिल्यैदेखि चल्दै आएको छ । घटनाहरू अहिले बढेका मात्रै हुन् ।

कतिपय पहाडी जिल्लामा त बादरकै आतंकका कारण गाउँ नै रित्तिन थालेका छन्। दिनरात खेती जोगाउन नसक्ने अवस्था आएपछि केही परिवार बसाइँसराइ गर्न बाध्य भएका उदाहरणसमेत भेटिन्छन्।
झापाको बुद्धशान्ति गाउँपालिका–४ बर्ने, डाँडागाउँ क्षेत्रका कृषकहरू अहिले यही समस्याबाट आजित बनेका छन्। रोङ गाउँपालिकासँग जोडिएको हडियाचुली वन क्षेत्र आसपासका जोगीडाँडा, चतुरेबर, वन कार्यालय डाँडागाउँ तथा कामिटार क्षेत्रमा बिहान–साँझ मात्रै होइन, दिनदहाडै बादरको आतंक बढ्दै गएको स्थानीय बताउँछन्।

स्थानीय कृषकको पीडा झनै मार्मिक छ।
“वर्षभर खान राखेको मकैबाली सखाप पार्छन्। गोलभेडा पाक्नै दिँदैनन्। आलु फल्न नपाउँदै उखेलिदिन्छन्। बाँसको तामा भाँचेर अम्रिसोको टुसासम्म खाएर नष्ट पार्छन्। घरभित्र र गोठमा पसेर अन्नपातसमेत खाइदिन्छन्,” महिला , अशक्त तथा बालबालिका लाई त आक्रमण समेत गर्नेगरेको किसानहरू गुनासो गर्छन्।
कृषकहरूका अनुसार बादर अहिले कुकुरलाई समेत नटेर्ने अवस्थामा पुगेका छन्। समूह बनाएर खेतबारीमा पस्ने बादरले केही मिनेटमै महिनौंको मेहनत नष्ट पार्ने गरेका छन्। त्यसैले धेरै किसान रातभर खेतबारी कुर्न बाध्य छन्।
समस्या बुद्धशान्तिमा मात्रै सीमित छैन। साविक शान्तिनगर क्षेत्र अन्तर्गत मदन भण्डारी राजमार्ग आसपासका अधिकांश गाउँमा किसानको पीडा उस्तै रहेको स्थानीय बताउँछन्।

स्थानीय स्तरमा साइरन बजाउने, माइक प्रयोग गर्ने, आवाज आउने बन्दुक पड्काउने, पासो थाप्ने तथा धपाउने प्रयास भइरहे पनि ती उपाय प्रभावकारी हुन सकेका छैनन्। उता कानुनी रूपमा बादर मार्न प्रतिबन्ध भएकाले किसान झन् असहाय बनेका छन्।
कृषकहरू भन्छन्, “राज्यले हाम्रो पीडा देखेको जस्तो लाग्दैन। खेती जोगाउने कि परिवार पाल्ने भन्ने चिन्ता भएको छ।”
अब भने केन्द्र सरकारको मात्रै मुख ताकेर बस्ने अवस्था नरहेको स्थानीयवासीको भनाइ छ। उनीहरूले स्थानीय सरकारले नै ठोस योजना बनाएर तत्काल काम अघि बढाउनुपर्ने माग गरेका छन्।

स्थानीय तहले सामुदायिक वन उपभोक्ता समूहसँग समन्वय गरी बादर बढी लाग्ने क्षेत्रमा झाडी सफाइ गर्ने, रुखका हाँगाबिँगा छाँटकाँट गर्ने तथा बादर ओहोरदोहोर गर्ने संवेदनशील गौंडा–गौंडामा तारबारसहित घेराबेरा निर्माण गर्नुपर्ने साथै दीर्घकालीन कार्यक्रमका रुपमा बादरलाइ जङ्गलमै भुल्याउने गरि फलफुल हरु आँप लिची , आरु , केरा लगायत बादरले रुचाउने घाँस प्रजातीका काभ्रा, जस्ता बिरुवा हरु जङ्गल क्षेत्रमा रोपण गर्नुपर्ने आवश्यकता देखिएको किसानहरू बताउँछन्।त्यस्तै खेतबारी वरिपरि बाँदरलाई मन नपर्ने वनस्पति वा फलफूल पनि रोप्न सकिन्छ । विशेषगरी गन्धको प्रयोगले केही समयका लागि बाँदर धपाउन सकिन्छ । जस्तोः कागती, अमिलो, टिमुर, बेसार, खोर्सानी बाँदरले मन पराउँदैनन् । बालीनाली जोगाउन निश्चित क्षेत्रमा सोलार इलेक्ट्रिक फेन्स पनि प्रयोग गर्न सकिन्छ । यो प्रविधि हात्ती व्यवस्थापनमा पनि सफल भएको छ ।

मानिस–बाँदर द्वन्द्व भएका ठाउँ पहिचान गरेर अल्पकालीन र दीर्घकालीन व्यवस्थापनको रणनीति सँगसँगै बनाउनु जरुरी छ ।
त्यस्तै वन्यजन्तु तथा कृषि क्षेत्रका विज्ञ सम्मिलित अध्ययन टोली गठन गरी दीर्घकालीन समाधान खोज्नुपर्ने र त्यससम्बन्धी सुझाव प्रदेश तथा केन्द्र सरकारसमक्ष पेश गर्नुपर्ने मागसमेत स्थानीय कृषकहरूले गरेका छन्।

कृषकहरूको भनाइमा अहिलेको समस्या सामान्य क्षति मात्र नभई खाद्य सुरक्षा, कृषि उत्पादन र ग्रामीण बसोबाससँग प्रत्यक्ष जोडिएको विषय बनिसकेको छ। समयमै प्रभावकारी नीति, क्षतिपूर्ति व्यवस्था र दीर्घकालीन वन्यजन्तु व्यवस्थापन योजना लागू नगरे धेरै किसान खेतीपाती नै छाड्न बाध्य हुने चेतावनी स्थानीयले दिएका छन्।














