बाह्रदशी । झापा, भरत प्रसाई
भनिन्छ, पसिना बगाउन र सपना सजाउन कुनै सात समुद्रपारिको भूगोल नै टेक्नुपर्छ भन्ने छैन ।
माटो चिन्न सके आफ्नै आगनको धुलोबाट पनि सुन फलाउन सकिन्छ । यही मान्यतालाई चरितार्थ गर्दै झापाको बाह्रदशी गाउँपालिका वडा नम्बर ६ की विष्णुमाया तामाङ आज धेरैका लागि एउटा ज्वलन्त उदाहरण बनेकी छिन् ।
विदेशी भूमिमा श्रम बेच्न लामबद्ध युवा पुस्ताका माझ आफ्नै आठ कट्टा रैथाने माटोमा मेहेनतको रङ भरेर उनले सफलताको एउटा सुन्दर कथा लेखेकी छिन्— ड्रेगन व्यवसायको कथा
आजभन्दा ठीक तीन वर्ष अगाडि, अर्थात् वि.सं. २०८१ सालमा विष्णुमायाले एउटा साहसिक निर्णय लिइन् । समाजमा परम्परागत खेतीपातीकै दबदबा थियो, तर उनले करिब ८ लाख रुपैयाँको लगानीमा आधुनिक र नौलो मानिने ड्रेगन खेती सुरु गरिन् ।
सुरुका दिनहरू सहज थिएनन्, लगानी डुब्ने हो कि भन्ने डर र आशंकाका घेराहरू नभएका होइनन् । तर, उनको दरो आत्मबल र निरन्तरको परिश्रमले अन्ततः परिणाम दिएरै छाड्यो ।
विगतलाई सम्झँदै र वर्तमानको खुसी साट्दै सञ्चालक विष्णुमाया तामाङ भन्छिन्: "सुरुमा त यति धेरै लगानी गर्दा मनमा अलिअलि डर भएकै हो । तर, मेहेनत मर्न दिइनँ । भर्खरै २०८१ को अन्तिममै मैले आफ्नो सबै सुरुवाती लगानी उठाइसकेकी छु । अहिले त म ढुक्कसँग मुनाफा आर्जन गरिरहेकी छु । वार्षिक करिब १३ लाख रुपैयाँसम्मको ड्रेगन फल बिक्री गर्न म सफल भएकी छु । परिश्रम गर्यो भने आफ्नै जन्मभूमिमा केही गर्न सकिने रहेछ ।"
विष्णुमायाका अनुसार ड्रेगन फलको बजारका लागि उनले कतै भौंतारिनु परेको छैन । स्वास्थ्यका लागि यो फल अत्यन्तै लाभदायक र औषधीय गुणयुक्त मानिने हुनाले यसको माग बजारमा अत्यधिक छ । एक पटक बोटबाट फल टिपिसकेपछि फेरि १५ दिनमै अर्को लट पाक्ने हुनाले महिनामा दुई पटकसम्म ड्रेगन उत्पादन हुन्छ ।
"मैले फल बेच्नका लागि बजारसम्म धाउनै पर्दैन," निकै प्रफुल्लित मुद्रामा विष्णुमायाले थपिन्, "फल पाक्न थालेपछि व्यवसायीहरू घरैसम्म आइपुग्छन् र प्रतिकिलो ३५० रुपैयाँ होलसेल दाममा बोटबाटै उठाएर लैजान्छन् । बजार मूल्य पनि उत्कृष्ट भएकाले यसबाट मनज्ञ आम्दानी भइरहेको छ ।"
ड्रेगन खेती सुन्दा जति आकर्षक छ, यसको प्राविधिक व्यवस्थापन उत्तिकै संवेदनशील र व्यवस्थित हुन जरुरी छ । कृषि व्यवसायी शान्तिकुमार ढकालका अनुसार ड्रेगन खेती गर्दा बिरुवालाई पहिले व्यवस्थित रूपमा नर्सरी गर्नुपर्छ । यसको प्राविधिक गहिराईबारे प्रष्ट पार्दै व्यवसायी ढकाल भन्छन्:
"ड्रेगन खेती गर्नुभन्दा पहिले मल र माटोको सम्मिश्रणलाई प्रशस्त मात्रामा मिलाउनुपर्छ । यसलाई पोल (पिलर) सिस्टमेटिक तरिकाले लगाउनु अनिवार्य छ । प्रत्येक पिलरमा दुई-तीनवटा रडको बलियो व्यवस्थापन हुनुपर्छ र ७ इन्चको पलम बनाइनुपर्छ ।
यदि सिँचाइको उचित र वैज्ञानिक व्यवस्थापन गर्न सकिएमा यहाँ एक दाना बराबर ८०० ग्रामसम्मको ड्रेगन फल फलाउन सकिन्छ । तर, बिडम्वना! किसानले आफ्नो रगत-पसिना बगाएर उत्पादन गरेका यस्ता उपजहरूलाई बजारीकरण गर्न र व्यावसायिक सुरक्षा दिन स्थानीय सरकार तथा सम्बन्धित निकायले भने अझैसम्म खासै चासो देखाएका छैनन् ।"
स्थानीय निकायको उदासीनताका बीच पनि विष्णुमाया जस्ता उद्यमी महिलाहरूले हरेस खाएका छैनन् । आठ कट्टाको सानो जमिनमा फलेका ती राता, रसिला ड्रेगनका दानाहरू केवल फल मात्र होइनन्, विष्णुमायाको आँखामा सजिएका आत्मनिर्भरताका सपनाहरू हुन् ।
परिश्रम र सही प्रविधिको फ्युजन हुने हो भने नेपालकै माटोमा सुन फलाउन सम्भव छ भन्ने कुरा बाह्रदशीकी विष्णुमायाले प्रमाणित गरिदिएकी छिन् । राज्यले बेलैमा यस्ता वास्तविक किसानका समस्या, सिँचाइ र बजारीकरणमा ध्यान दिने हो भने कृषिमा आत्मनिर्भर बन्ने देशको सपना टाढा छैन ।














