सीपलाई श्रममा बदले, श्रमलाई आम्दानीमा
अर्जुनधारा । भरत प्रसाई , मान्छेले आँट गरेर निरन्तर प्रयास गरिरह्यो भने सामान्य सीप र थोरै लगानीबाट पनि आफ्नो जीवन चलाउन सकिन्छ भन्ने उदाहरण बनेका छन् झापाको अर्जुनधारा नगरपालिका–१० कालीझोडाका राजेन्द्र अछामी। विसं २०३६ सालदेखि बुवाबाट सिकेको मुढा बुन्ने सीपलाई निरन्तरता दिँदै आएका अछामीले यही व्यवसायबाट आफ्नो परिवारको आवश्यकता पूरा गर्दै आएका छन्।
जीवन परिवर्तनका परिभाषा मानिसपिच्छे फरक हुन सक्छन्। कसैका लागि ठूलो सम्पत्ति कमाउनु सफलता होला, कसैका लागि आफ्ना आधारभूत आवश्यकता सहज रूपमा पूरा गर्न सक्नु नै उपलब्धि हुन सक्छ। तर गाँस, बास र कपासको आवश्यकता आफ्नै श्रम र सीपबाट पूरा गर्न सक्नु आत्मनिर्भर जीवनको एउटा महत्वपूर्ण आधार हो।
अछामीका लागि मुढा बुन्ने काम केवल एउटा व्यवसाय मात्र होइन, लामो समयदेखि गर्दै आएको कर्म हो। दशकौँदेखि निरन्तर एउटै सीपमा मेहनत गर्दै आएका उनले यसैबाट सात जनाको परिवार पाल्दै आएका छन्। एउटा मुढा निर्माण गर्दा करिब ५० रुपैयाँसम्म फाइदा हुने गरेको उनी बताउँछन्।
“गरी खान लजाउनु हुँदैन। मेहनत र परिश्रमबाट आर्जेको सफलता नै मिठो हुन्छ,” अछामी भन्छन्, “मैले यही कामबाट राम्रो खाएको छु, राम्रो लगाएको छु र परिवारका आवश्यकताहरू पूरा गर्न सकेको छु।”
कालीझोडामा अछामी मात्र होइन, मुढा निर्माण गर्ने परिवारहरूको संख्या उल्लेख्य छ। स्थानीयका अनुसार गाउँमा करिब एक सयभन्दा बढी घरपरिवार प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा मुढा बनाउने काममा संलग्न छन्।
कृषि कर्मपछि बचेको समयलाई सीपमूलक काममा लगाएर आम्दानी गर्ने यहाँका स्थानीयको अभ्यासले सानो उद्यमले पनि परिवारको आर्थिक अवस्थालाई बलियो बनाउन सक्ने देखाएको छ।
लामो समयदेखि मुढा निर्माण गर्दै आएका अर्का स्थानीय व्यवसायी मुक्तिनाथ गिरी पनि यही सीपलाई आम्दानीको माध्यम बनाउँदै आएका छन्। उनका छोराछोरीसमेत फुर्सदको समयमा मुढा निर्माणमा सहयोग गर्छन्।
गिरीका अनुसार राम्रो गुणस्तरका मुढा उत्पादन गर्न सके बजारको समस्या छैन। विगतमा कालीझोडामा निर्माण भएका मुढा काठमाडौं, पोखरा, नुवाकोट, भैरहवा लगायतका विभिन्न स्थानसम्म पुग्ने गरेको उनको अनुभव छ।
कृषिप्रधान मुलुकमा स्थानीयस्तरमै उपलब्ध हुने सीप र स्रोतलाई उपयोग गर्दै साना उद्यम सञ्चालन गर्नु रोजगारी र आत्मनिर्भरताको महत्वपूर्ण माध्यम बन्न सक्छ। विशेषगरी ग्रामीण क्षेत्रमा मानिससँग सीप भए पनि बजार, प्रविधि, कच्चा पदार्थ, पूँजी र उचित मूल्यको अभावमा धेरै सीप व्यवसायमा रूपान्तरण हुन सकेका छैनन्।
कालीझोडाका मुढा व्यवसायीहरू यसका प्रतिनिधि पात्र हुन्। उनीहरूले स्थानीय सरकारको सहयोगको मात्र प्रतीक्षा नगरी आफूले जानेको सीपलाई निरन्तरता दिइरहेका छन्। तर यस्ता लघु उद्यमलाई स्थानीय तहले व्यवस्थित रूपमा प्रवर्द्धन गर्न सके यसको प्रभाव अझ व्यापक बन्न सक्छ।
स्थानीय सरकारले सीप भएका नागरिकलाई आवश्यक कच्चा पदार्थ, आधुनिक उपकरण, तालिम, सहुलियतपूर्ण ऋण, उत्पादनको गुणस्तर सुधार, प्याकेजिङ तथा बजार व्यवस्थापनमा सहयोग गर्न आवश्यक देखिन्छ। उत्पादित सामग्रीको बजार विस्तारका लागि स्थानीय, प्रदेश र संघीय तहबीच समन्वय हुन सके यस्ता परम्परागत सीप व्यवसायमा नयाँ पुस्तालाई समेत आकर्षित गर्न सकिन्छ।
जनताको सीपलाई सही ठाउँमा प्रयोग गर्ने अवसर सिर्जना गर्नु विकासको महत्वपूर्ण आधार हो। स्थानीय तहले रोजगारीका अवसर खोज्दै बाहिर जानुपर्ने अवस्थालाई मात्र सम्बोधन गर्ने होइन, गाउँमै भएका सीप र सम्भावनालाई व्यवसायमा रूपान्तरण गर्ने वातावरण पनि बनाउन आवश्यक छ।
समाजको विकास गर्ने हो भने त्यहाँ बसोबास गर्ने नागरिकलाई रोजगारी र उद्यमसँग जोड्नुपर्छ। नागरिकको आर्थिक अवस्था बलियो बन्दै जाँदा परिवार बलियो हुन्छ, परिवार बलियो हुँदा समाज बलियो बन्छ र समाजको आर्थिक गतिविधि बढ्दै जाँदा समग्र क्षेत्रको विकास सम्भव हुन्छ।
अर्जुनधाराको कालीझोडामा मुढा बुन्दै गरेका राजेन्द्र अछामी र मुक्तिनाथ गिरीहरू यही सम्भावनाका साना तर अर्थपूर्ण उदाहरण हुन्। उनीहरूको हातमा रहेको सीपलाई बजारसँग जोड्ने वातावरण बनाउन सक्ने हो भने गाउँमै बसेर इमान र आत्मसम्मानका साथ जीवन चलाउने बाटो अझ फराकिलो बन्न सक्छ।














