बिर्तामोड । ‘शिक्षा र समृद्धिका लागि सहकारी’ भन्ने मूल नाराका साथ स्थापना भएको शिक्षा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो १४औँ वार्षिक साधारणसभा विभिन्न कार्यक्रमसहित सम्पन्न गरेको छ।

झापाको बिर्तामोडस्थित अग्रसेन भवनमा आज आयोजित साधारणसभामा संस्थाका उत्कृष्ट कर्मचारी, उत्कृष्ट ऋणी, उत्कृष्ट बचतकर्ता तथा कर्मचारी ,शैक्षिक क्षेत्रमा उत्कृष्ट उपलब्धि हासिल गर्नेलाई सम्मान गरिएको थियो।

संस्थाका अध्यक्ष सुव्रत न्यौपानेको अध्यक्षतामा सम्पन्न साधारणसभामा सञ्चालक समिति, कर्मचारी, लेखा समिति, ऋण समिति तथा सल्लाहकार समितिका पदाधिकारीहरूको मात्र सहभागिता रहेको थियो।

bharat don

IMG_1786साधारणसभालाई खर्चिलो तथा भड्किलो नबनाउने उद्देश्यले बाह्य अतिथिलाई आमन्त्रण नगरी संस्थाभित्रकै पदाधिकारी तथा सदस्यहरूको सहभागितामा कार्यक्रम सम्पन्न गरिएको संस्थाले जनाएको छ।

साधारणसभामा अध्यक्ष न्यौपानेले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थामा ४ हजार १३२ जना शेयर सदस्य रहेको जानकारी दिनुभयो। उहाँका अनुसार सो आर्थिक वर्षमा संस्थाको शेयर पुँजी ३ करोड ५१ लाख ७४ हजार १०० रुपैयाँ पुगेको छ।

अध्यक्षको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८३/८४ मा संस्थाले बचत संकलनलाई २५ करोड रुपैयाँ पुर्‍याउने र ऋण लगानी २० करोड ६० लाख ७५ हजार रुपैयाँ पुर्‍याउने लक्ष्य लिएको छ। चालु आर्थिक वर्षमा थप ६१२ जना शेयर सदस्य विस्तार गर्ने लक्ष्यसमेत संस्थाले राखेको छ

IMG_1773

सदस्यको हितलाई प्राथमिकतामा राख्दै संस्थाले विभिन्न सामाजिक तथा मानवीय सेवा कार्यक्रमलाई समेत निरन्तरता दिँदै आएको प्रतिवेदनमा उल्लेख छ।

संस्थाका शेयर सदस्यले निःशुल्क रूपमा रगत प्राप्त गर्ने व्यवस्था रहेको तथा सर्पदंश र कुकुरको टोकाइबाट पीडित सदस्यलाई उपचारमा सहयोग गर्दै आएको जनाइएको छ।

त्यस्तै, ‘स्टाफ इमर्जेन्सी फण्ड’मार्फत कर्मचारीलाई आवश्यकताअनुसार उपचार सुविधा उपलब्ध गराउँदै आएको र ऋणी सदस्यको मृत्यु भएमा कर्जा मिनाहा गर्ने नीतिलाई समेत निरन्तरता दिइएको संस्थाले जनाएको छ।

आर्थिक वर्ष २०८२/८३ मा संस्थाले ब्याज करबापत ७ लाख १ हजार ३८७ रुपैयाँ, सामाजिक सुरक्षा करबापत ७१ हजार ६७२ रुपैयाँ र भत्ता करबापत १ लाख ७० हजार ३१२ रुपैयाँ गरी कुल ९ लाख ४२ हजार ३७१ रुपैयाँ कर दाखिला गरेको प्रतिवेदनमा उल्लेख छ।

IMG_1795

त्यस्तै, बिर्तामोड नगरपालिकाले जारी गरेको नगर शिक्षा ऐन, २०७९ तथा विद्यालय स्थापना, अनुमति, सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८० बमोजिम संस्थाद्वारा सञ्चालित विद्यालयका कक्षाहरू वर्षेनी थपिँदै गएको जानकारीसमेत सभामा प्रस्तुत गरिएको थियो।

साधारणसभाका अवसरमा संस्थाले उत्कृष्ट कर्मचारीका रूपमा मेचीनगर–धुलाबारी बजार सेवाकेन्द्रमा बजार सहायक को जिम्मेवारीमा कार्यरत रिता पौडेललाई सम्मान गरेको छ। उहाँलाई संस्थाका अध्यक्ष सुव्रत न्यौपानेले प्रमाणपत्र, दोसल्ला तथा नगदसहित सम्मान गर्नुभयो।

IMG_1751

त्यस्तै, उत्कृष्ट ऋणीका रूपमा चैतुबारी सेवा केन्द्रका नीम राजवंशीलाई सम्मान गरिएको छ। उहाँलाई सल्लाहकार संयोजक सावित्राकुमारी लिम्बुले प्रमाणपत्र तथा दोसल्ला प्रदान गर्नुभयो।

उत्कृष्ट कारोबार बचतकर्तातर्फ चैतुबारीकी रञ्जिक्षा पौडेल तथा बिर्तामोडकी सविता राजवंशी र उत्कृष्ट आवधिक बचतकर्ताका रूपमा संगीता कुमारी थापालाई सम्मान गरिएको थियो।

यसैगरी संस्थाका कर्मचारीका छोराछोरीमध्ये प्लस टु परीक्षामा उत्कृष्ट अंक हासिल गर्ने अंशकुमार खतिवडालाई पनि सम्मान गरिएको छ। २०८२ सालको परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेको भन्दै उहाँलाई संस्थाका अध्यक्ष सुव्रत न्यौपाने, लेखा संयोजक सूर्यकुमार खतिवडा, सल्लाहकार सदस्य लीलाप्रसाद बराललगायतले खादा, माला, प्रमाणपत्र तथा नगदसहित सम्मान गर्नुभयो।

IMG_1757

कार्यक्रममा लेखा संयोजक सूर्यकुमार खतिवडाले लेखा समितिको प्रतिवेदन तथा ऋण उपसमितिकी सदस्य चीजा राईले ऋण उपसमितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

प्रस्तुत प्रतिवेदनमाथि छलफलपछि अध्यक्षको प्रतिवेदन, लेखा समितिको प्रतिवेदन तथा ऋण उपसमितिको प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरिएको थियो।

साधारणसभालाई थप मनोरञ्जनात्मक बनाउन बाल कलाकार अनुजा न्यौपानेले आकर्षक नृत्य प्रस्तुत गर्नुभएको थियो भने संस्थाद्वारा सञ्चालित विद्यालयका बालबालिकाले सामूहिक नृत्य प्रस्तुत गरेका थिए।

संस्थाले सहकारीको आर्थिक गतिविधिसँगै सदस्यको सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्य तथा मानवीय सेवामा समेत योगदान पुर्‍याउँदै जाने प्रतिबद्धता जनाएको छ।

कार्यक्रमको सञ्चालन संस्थाका सञ्चालक समितिका सचिव युवराज निरौलाले गर्नुभएको थियो।