बिर्तामोड, झापा ।
साहित्य चौतारी, बिर्तामोड झापाको संस्थागत बैठक अध्यक्ष देवीभक्त श्रेष्ठको अध्यक्षतामा संस्थाकै सभाहलमा सम्पन्न भएको छ।
बैठकमा निवर्तमान पूर्व अध्यक्ष हस्त परियार तथा पूर्व कार्यवाहक सचिव देवीचरण भण्डारीसहित संस्थाका पदाधिकारी, सदस्यहरू, सल्लाहकार संयोजक, कानुन सल्लाहकार र प्रेस सल्लाहकारको सहभागिता रहेको थियो।
उक्त बैठकले संस्थागत गतिविधि, स्रष्टा सम्मान तथा समसामयिक विषयमा छलफल गर्दै विभिन्न ४ वटा महत्त्वपूर्ण निर्णयहरू सर्वसम्मत रूपमा पारित गरेको छ।
तीन प्रज्ञा प्रतिष्ठानलाई शुभकामना: नेपाल प्रज्ञा-प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठान गरी देशका तीनवटै विधागत प्रज्ञा प्रतिष्ठानहरूलाई औपचारिक रूपमा शुभकामना सन्देश पठाउने निर्णय गरिएको छ।
राष्ट्रिय बाल दिवस र मोती जयन्ती मनाइने: आसन्न राष्ट्रिय बाल दिवस तथा मोती जयन्तीका अवसरमा विशेष कार्यक्रम आयोजना गरिने भएको छ। सो अवसरमा 'बाढीपीडित' र 'मोती जयन्ती' शीर्षकमा काव्य तथा कविता प्रस्तुति कार्यक्रम सञ्चालन गरिने निर्णय भएको छ।
इन्दीवर घिमिरेप्रति श्रद्धाञ्जली र फत्तेमानको स्मृति दिवस: भदौ १० गते भोटेकोशीको भीषण बाढीमा परी असामयिक निधन हुनुभएका राष्ट्रकवि माधवप्रसाद घिमिरेका सुपुत्र इन्जिनियर इन्दीवर घिमिरेप्रति बैठकले भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ।
साथै, वरिष्ठ गायक तथा संगीतकार फत्तेमान राजभण्डारीको १४ औँ स्मृति दिवस पनि सामान्य रूपमा मनाउने निर्णय पारित गरिएको छ।














