बिर्तामोड । नेपाल उद्यमशील महिला संघ झापाले बिर्तामोडस्थित तारा नमस्ते बालगृहमा बडादशैँको अवसरमा स्नेह भोजन तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ। बालगृहमा रहेका बालबालिकासँग उद्यमी महिलाले दशैँसहित चाडपर्वको खुशी साटेका हुन्।
बिर्तामोड नगरपालिका वडा नं. ४ का सदस्य उमेश राउतको प्रमुख आतिथ्यमा तारा नमस्ते बालगृहका अध्यक्ष यामकुमार बिमली, नेपाल उद्यमशील महिला संघ, झापाका संस्थापक अध्यक्ष पार्वता खरेल बिमली, नेपाल उद्यमशील महिला संघका सल्लाहकार भिमा सिवाकोटी तथा तारा नमस्ते बालगृहकी व्यवस्थापक यसोदा चापागाईंको उपस्थितिमा बालबालिकासँग दशैँ मनाइएको हो।
कार्यक्रममा वक्ताहरूले दशैँको शुभकामना व्यक्त गर्दै बालबालिकाको खुशी, संरक्षण, माया र उज्ज्वल भविष्यका लागि सबैले सहयोग गर्नुपर्नेमा जोड दिए।
नेपाल उद्यमशील महिला संघका अध्यक्ष ऐश्वर्या पाण्डेले सामाजिक उत्तरदायित्व र सद्भावका लागि बालगृहमा चाडपर्वको शुभकामना आदानप्रदान गरिएको बताइन् । अध्यक्ष पाण्डेले बालगृहलाई पाँच हजार ५०५ रुपैयाँ नगद प्रदान गरिएको पनि बताइन्।
‘बालबालिकालाई आश्रय दिइरहेको सामाजिक संस्थालाई हाम्रो ठाउँबाट सकेको सहयोग गर्ने प्रयास स्वरुप कार्यक्रम गरिएको हो’ पाण्डेले भनिन्।
कार्यक्रममा आपसी सद्भाव, मानवीय सेवा र सामाजिक उत्तरदायित्वको भावना अभिवृद्धि गर्ने उद्देश्यले बालगृहका बालबालिकासँग स्नेह तथा खुशी साटासाट गरियो। कार्यक्रममा वरिष्ठ उपाध्यक्ष यशोदा प्रसाईं भट्टराई र संघकी महासचिव चन्द्रकला रिजाल भट्टराईले चाडपर्वको खुसी बालबालिकासँग बाँड्दै सामाजिक सेवामा सहकार्य र आत्मीयताको सन्देश दिइएको बताए ।














