बिर्तामोड, असार २५।

नेपाली मौलिक हक, संस्कृति, परम्परा र सामाजिक एकताको प्रवर्द्धन गर्ने पवित्र उद्देश्यका साथ बिर्तामोडमा रामचोक युवा समूहको आयोजनामा दुर्गा पूजा विशेष सांस्कृतिक तथा धार्मिक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।

“परम्पराको संरक्षण, संस्कृतिको सम्मान—एकताबद्ध समाज हाम्रो अभियान” भन्ने मूल नाराका साथ आयोजित उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि, प्रतिष्ठित समाजसेवी, बुद्धिजीवी, अभिभावक तथा ठूलो संख्यामा स्थानीयवासीको उत्साहजनक उपस्थिति रहेको थियो।

कार्यक्रमको समुद्घाटन प्रमुख अतिथि एवं समाजसेवी लोकनाथ खनाल, विशिष्ट अतिथि बिर्तामोड नगरपालिका वडा नं. २ का वडाध्यक्ष किशोर पौडेल तथा कार्यक्रमका अध्यक्ष रामप्रसाद अधिकारीले संयुक्त रूपमा दीप प्रज्वलन गरी गर्नुभएको थियो।

सो अवसरमा नवदुर्गा भवानीको भव्य मूर्ति अनावरण गरिनुका साथै राष्ट्रिय गान, पूजा-आजा र वैदिक मन्त्रोच्चारणसहित धार्मिक अनुष्ठान सम्पन्न गरियो। कार्यक्रमको सांस्कृतिक सत्रमा स्थानीय युवा तथा बाल-कलाकारहरूद्वारा आकर्षक नृत्य, भजनकीर्तन तथा विविध सांस्कृतिक झाँकीहरू प्रस्तुत गरिएको थियो, जसले उपस्थित दर्शकहरूलाई मन्त्रमुग्ध बनाएको थियो।

कार्यक्रममा संस्थाका कोषाध्यक्ष परशुराम बरालले स्वागत मन्तव्य व्यक्त गर्दै उपस्थित सम्पूर्ण अतिथि तथा सहभागीहरूलाई हार्दिक शब्दद्वारा स्वागत गर्नुभयो। स्वागत मन्तव्यकै क्रममा उहाँले एक महत्त्वपूर्ण घोषणा गर्दै नेपालदेशीय आद्य जगद्गुरु योगीराज कमलनयनाचार्य स्वामीजी महाराजको पुण्य स्मृतिमा एक 'अक्षयकोष' को शुभ-आरम्भ गरिएको जानकारी गराउनुभयो।


0ed4f7e0-fe04-4504-8b83-25aa7366bf8eउक्त अक्षयकोषबाट प्राप्त हुने ब्याज रकम धार्मिक, सामाजिक तथा असहाय बालबालिकाहरूको शिक्षा-दीक्षाका लागि खर्च गरिने समूहले जनाएको छ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लोकनाथ खनालले युवाहरूले आफ्नो संस्कृति र परम्परा जोगाउन देखाएको यस्तो सक्रियता प्रशंसनीय रहेको बताउनुभयो। त्यसैगरी विशिष्ट अतिथि एवं वडाध्यक्ष किशोर पौडेलले स्थानीय धर्म, संस्कृति र सामाजिक सद्भाव अभिवृद्धि गर्न युवा समूहले गरेको कार्यको उच्च मूल्याङ्कन गर्दै वडा कार्यालयको तर्फबाट निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै रामचोक युवा समूहका सहसचिव रमेश अधिकारीले धार्मिक तथा सांस्कृतिक परम्पराको जगेर्ना गर्नुका साथै स्थानीय समुदायबीच आपसी सद्भाव, भ्रातृत्व, सहयोग र एकता अभिवृद्धि गर्न कार्यक्रम आयोजना गरिएको बताउनुभयो।

रामचोक युवा समूहका अध्यक्ष रामप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको कुशल सञ्चालन सहसचिव रमेश अधिकारीले गर्नुभएको थियो।

कार्यक्रमको समापनमा अध्यक्ष अधिकारीले कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सम्पूर्ण दाता, स्वयंसेवक, मिडियाकर्मी र स्थानीयवासीलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो।