बिर्तामोड, २८ असोज : बिर्तामोड नगरपालिकामा सुरक्षित आप्रवासन (सामी) कार्यक्रमको चौथो चरणको कार्यान्वयन मोडालिटीसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
नगरपालिकाको सभाहलमा आज आयोजित कार्यक्रममा आर्थिक वर्ष २०८३/८४ को स्वीकृत कार्यक्रमअनुसार सामी कार्यक्रमका विषयमा अभिमुखीकरण गरिएको हो। बिर्तामोडमा यसै वर्षदेखि मनोसामाजिक परामर्श सेवा औपचारिक रूपमा सञ्चालनमा आएको छ।
नगरप्रमुख पवित्रा महतारा प्रसाईले स्थानीय तहमै मानसिक स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवा उपलब्ध भएपछि नागरिकमा देखिने मानसिक समस्याको न्यूनीकरण गर्न ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो।
यसैगरी नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले कार्यक्रम मार्फत मानसिक तनाव, चिन्ता, निराशा तथा पारिवारिक एवं सामाजिक समस्याको समयमै पहिचान गरी आवश्यक परामर्श र उपचार प्रक्रियामा सहयोग पुग्ने बताउनु भयो ।
मनोसामाजिक परामर्श सेवाका साथै सामी कार्यक्रम तथा सुरक्षित वैदेशिक रोजगारीसम्बन्धी थप जानकारी, परामर्श र आवश्यक सहयोग चाहिएमा रोजगार सेवा केन्द्रमा सम्पर्क गर्न सकिने जनाइएको छ ।
कार्यक्रममा सामी प्रदेश कार्यक्रम संयोजक गीता वञ्जारा, जिल्ला कार्यक्रम संयोजक शेखर बुढाथोकी र कार्यक्रम अधिकृत रोहित विश्वकर्माले प्रशिक्षण दिनुभएको थियो।
कार्यक्रममा वडा नम्बर १ का वडाध्यक्ष अग्निप्रसाद पाण्डे, वडा नम्बर १० का वडाध्यक्ष दुर्योधन गुरुङ, प्रमुख प्रशासकीय अधिकृत काजीमान राई, उपसचिव तिलचन भण्डारीलगायत कार्यपालिका सदस्य तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।














