~सुमन
आजकल सामाजिक सञ्जाल खोल्छु, विभिन्न राजनीतिक दलमा आस्था राख्ने कार्यकर्ताहरूका गतिविधि नियाल्छु । स्वस्थ बहस, वैचारिक विमर्श र तथ्यमा आधारित तर्कभन्दा बढी एकअर्का प्रतिको गालीगलौज, आरोप-प्रत्यारोप र व्यक्तिगत आक्रमण देखिन्छ । लाग्छ, हामी राजनीति बुझ्न होइन, आफ्नो दलको पक्षमा युद्ध लड्न सामाजिक सञ्जालमा उपस्थित भएका छौँ । म कहिलेकाहीँ आफैँलाई प्रश्न गर्छु आखिर यो झगडा केका लागि? कसका लागि? र यसको उपलब्धि के हो?
राजनीतिक विचार फरक हुनु स्वाभाविक हो । लोकतन्त्रको सुन्दरता नै विचारको विविधतामा हुन्छ । कसैले एउटा दललाई विश्वास गर्ला, कसैले अर्कोलाई । कसैले पुरानो राजनीतिक नेतृत्वलाई उचित ठान्ला, कसैले नयाँ शक्तिबाट परिवर्तनको अपेक्षा गर्ला तर हाम्रो राजनीतिक आस्था फरक हुँदैमा देशप्रतिको साझा जिम्मेवारी फरक हुनु पर्ने हो र? हामीले बुझ्नु पर्ने पहिलो कुरा के हो भने राजनीतिक दल देश बनाउनको बनिएको हो, देश कुनै राजनीतिक दलमा सिमित हुनका लागि निर्माण भएको होइन ।
म पनि वर्तमान सरकारबाट केही सकारात्मक परिवर्तन होला भन्ने आशा बोकेर बसेको छु । यसको एक प्रमुख कारण स्थायी सरकार हुनु हो । विगतमा हामीले गठबन्धन सरकारको अनुभव गर्यौँ । फरक-फरक राजनीतिक स्वार्थ, सत्ता साझेदारीका बाध्यता र दलहरू बीचको असमझदारीले कतिपय निर्णय प्रक्रियालाई जटिल बनाएको देख्यौँ । सरकारको ध्यान जनताको अपेक्षाभन्दा सत्ता टिकाउने समीकरणमा बढी केन्द्रित भएको अनुभूति पनि गर्यौँ । अपेक्षा धेरै थियो तर निराशा त्योभन्दा धेरै...। अहिले परिस्थिति फरक छ । बहुमतको सरकार छ । सरकारसँग निर्णय गर्ने राजनीतिक आधार र अवसर दुवै छ । यसको अर्थ सबै समस्या रातारात समाधान हुन्छन् भन्ने होइन । राज्य सञ्चालनका आफ्नै नीति, नियम, कानुनी प्रक्रिया र प्रशासनिक जटिलताहरू हुन्छ । कुनै पनि काम सम्पन्न हुन समय लाग्न सक्छ । कतिपय काममा कानुनी सुधार आवश्यक पर्छ भने कतिपयमा प्रशासनिक इच्छाशक्ति । त्यसैले सरकारलाई काम गर्न समय दिनु र कामको परिणामबारे प्रश्न उठाउनु दुवै आवश्यक छ ।
कहिलेकाही फेसबुकमा पत्रकार विराट अनुपमका सामाजिक सञ्जालमा प्रकाशित पोस्टहरू पनि नियाल्ने गर्छु । उहाँ प्रमाण र तथ्यहरू प्रस्तुत गर्दै विगतका सरकार तथा वर्तमान सरकारका कामकार्वाहीको तुलना गर्छन्, कमजोरीहरू औँल्याउँछन् र विभिन्न विषयमा प्रश्न उठाउँछन् । पत्रकारिताको एउटा महत्त्वपूर्ण जिम्मेवारी नै यही हो । सत्तालाई प्रश्न गर्नु, तथ्य सार्वजनिक गर्नु र नागरिकलाई सुसूचित गराउनु तर त्यस्ता पोस्टहरूको प्रतिक्रियामा देखिने एउटा प्रवृत्तिले भने गम्भीर प्रश्न जन्माउँछ । नयाँ राजनीतिक दलमा आस्था राख्ने कतिपय कार्यकर्ताहरू तथ्य र तर्कको जवाफ दिनुको सट्टा आफ्नो दलको बचाउमा उत्रिएको देखिन्छ । उनीहरूलाई लाग्छ, आफ्नो दलको आलोचना हुनु भनेको परिवर्तनको अभियानमाथि नै प्रहार हुनु हो । यही सोच सबैभन्दा खतरनाक छ । एउटा कुरा हामीले स्पष्ट बुझ्नु पर्छ, पुराना राजनीतिक दलहरूको कमजोरी, कुशासन, भ्रष्टाचार, नेतृत्वको अहंकार र कार्यकर्ताको अन्धसमर्थन जस्ता प्रवृत्ति प्रति असन्तुष्टि नै नयाँ राजनीतिक शक्तिहरू जन्मिनुको एउटा प्रमुख आधार हो । यदि पुराना दलहरूले आफ्नो कार्यशैली सुधार्न सकेको भए, जनताको विश्वास कायम राख्न सकेका भए र नेतृत्वले जवाफदेहिता प्रदर्शन गरेको भए नयाँ राजनीतिक विकल्प प्रतिको आकर्षण यति तीव्र हुने थिएन होला ।
पुराना दलहरू बिग्रनुको एक प्रमुख कारण नेतृत्वको गलत निर्णयमा कार्यकर्ताले प्रश्न नगर्नु थियो । नेताले जे गरे पनि सही, नेतृत्वले जे बोले पनि अन्तिम सत्य र पार्टीले जे निर्णय गरे पनि त्यसको बचाउ गर्नै पर्ने प्रवृत्तिले राजनीतिक संस्थाहरूलाई कमजोर बनायो । पार्टीभित्र आलोचनात्मक आवाजहरू दबाईयो । इमानदार कार्यकर्ताहरू निरुत्साहित भए । नेतृत्वको गल्तीलाई गल्ती भन्न नसक्ने राजनीतिक संस्कार विकास भयो । आज नयाँ राजनीतिक शक्तिका कार्यकर्ताहरूले त्यही इतिहासबाट पाठ सिक्नु पर्छ । नत्र नयाँ नाम, नयाँ चुनाव चिह्न र नयाँ अनुहार लिएर पनि पुरानै राजनीतिक रोग बोकेर हिँड्नुको कुनै अर्थ रहँदैन । कुनै दल नयाँ हुँदैमा उसका सबै निर्णय सही हुन्छ भन्ने हुँदैन । कुनै नेता युवा हुँदैमा ऊ सधैँ इमानदार हुन्छ भन्ने ग्यारेन्टी पनि छैन । नयाँ विचार, नयाँ नेतृत्व र नयाँ राजनीतिक यात्राको महत्त्व तब मात्र हुन्छ, जब त्यसले पुरानो गलत राजनीतिक संस्कारलाई बदल्न सक्छ ।
आफूले आस्था राखेको दलले राम्रो काम गर्दा प्रशंसा गर्नुस्, नराम्रो काम गर्दा प्रश्न गर्नुस् । आफ्नो दलको नेतृत्वले गल्ती गर्दा गल्ती स्वीकार्नुस् । विपक्षी दलले राम्रो काम गर्दा त्यसको प्रशंसा गर्न सक्ने उदारता राख्नुस् । लोकतन्त्रमा विचारको प्रतिस्पर्धा हुनु पर्छ, अन्धभक्तिको प्रहार होइन। अहिले पुराना राजनीतिक दलहरूभित्र पनि आत्मसमीक्षा र नेतृत्वको कार्यशैली माथि प्रश्न उठाउने आवाजहरू सुनिन थालेका छ । यो सकारात्मक संकेत हो, कुनै दलको भविष्य सुधार्न नेतृत्वलाई प्रश्न गर्ने कार्यकर्ताहरूको आवश्यकता पर्छ । नेतृत्वको हरेक निर्णयमा ताली बजाउने कार्यकर्ताले पार्टीलाई बलियो बनाउनुको सट्टा कमजोर बनाउनमा प्रेरित गर्छ... तर नयाँ राजनीतिक दलका कार्यकर्ताहरूमा यो चेतना कहिले विकास हुने? के नयाँ दलका नेतृत्वहरू पनि प्रश्न भन्दा माथि छन्? के उनीहरूको निर्णय माथि तथ्य र तर्कका आधारमा छलफल गर्न पाइँदैन? के परिवर्तनको नारा बोकेर आएका शक्तिहरूले पनि आफ्नो आलोचनालाई षड्यन्त्र, विरोध वा राजनीतिक पूर्वाग्रहका रूपमा व्याख्या गर्न थालेका हुन्? यदि आजै देखि आफ्ना कमजोरी स्वीकार्ने संस्कार विकास गरिएन भने भोलि नयाँ दल पनि पुरानै दलहरूको बाटोमा पुग्न सक्छ । त्यसबेला सुधार गर्न धेरै ढिलो भई सकेको हुनेछ । इतिहासले फेरि अर्को विकल्प खोज्नेछ र जनताले फेरि अर्को परिवर्तनको सपना देख्नु पर्नेछ । राजनीतिको यो अन्त्यहीन चक्रबाट देशलाई बाहिर निकाल्ने जिम्मेवारी आजका सचेत नागरिक र राजनीतिक कार्यकर्ताकै हो ।
हामीले एउटा कुरा कहिल्यै बिर्सनु हुँदैन? सरकार हाम्रो साझा हो । सरकारको सफलता कुनै एउटा दलको मात्र सफलता हुन सक्दैन, यो सफलता सम्पूर्ण आम जनताहरुको निम्ति हो । त्यस्तै सरकारको असफलता पनि कुनै विपक्षी दलका लागि खुसी मनाउने कारण बन्नु हुदैन, त्यसको असर भोग्ने पनि त्यही आम नागरिकहरु नै हो ।त्यसैले वर्तमान सरकार सफल होस् भन्ने चाहना राख्नु र सरकारका कमजोरीहरू औँल्याउनु एकअर्काका विरोध गरेको हुँदै होइन । बरु यी दुई कुरा एकअर्काका परिपूरक हुन । सरकारलाई सही बाटोमा हिँडाउन सकारात्मक आलोचना आवश्यक छ । आलोचनालाई शत्रुता ठान्ने नेतृत्वले आफ्नो वरिपरि प्रशंसकहरूको घेरा त बनाउला तर जनताको वास्तविक आवाज सुन्ने अवसर गुमाउनेछ । हामीलाई सरकारको प्रशंसामा लेखिएका सयौँ पोस्टभन्दा जनताको समस्यालाई तथ्य सहित उठाउने एउटा पोस्ट बढी आवश्यक छ ।
त्यसैले आजै देखि आफ्नो अर्काको राजनीतिक आस्थालाई सम्मान गरौँ तर त्यसलाई आफ्नो विवेक माथि हाबी हुन दिने काम गर्नु हुदैन । सामाजिक सञ्जाललाई राजनीतिक युद्ध भूमि होइन, विचार र चेतनाको मञ्च बनाउनु पर्छ । हाम्रो परिचय कुनै दलको कार्यकर्ता हुनुमा मात्र सीमित हुनु हुँदैन । हामी सबैभन्दा पहिले यो देशका नागरिक हौँ भन्ने कुरा मस्तिष्कमा राख्नु पर्छ । तसर्थ हाम्रो खबरदारीले दल सही बाटोमा हिँड्यो भने सरकार सही हुन्छ, सरकार सही भयो भने राज्यको संयन्त्र सुध्रिन्छ र राज्यको संयन्त्र सुध्रियो भने समृद्धिको ढोका खुल्न थाल्छ ।
धन्यवाद ।











