धनकुटाको पाख्रीबास नगरपालिका–७ स्थित मुगा बजारलाई जोड्ने पाख्रीबास–मुगा–सुनबालुवा सडकको ट्रयाक खुलेको करिब तीन दशक बितिसक्दा पनि कालोपत्रे हुन सकेको छैन । सडक कालोपत्रे नहुँदा स्थानीयले बर्खामा हिलो र हिउँदमा धुलोको सास्ती खेप्दै आएका छन् ।
१९ किलोमिटर लामो यो सडक निर्माण तथा स्तरोन्नति नहुँदा स्थानीयको दैनिक आवागमन कष्टकर बनेको छ । यही सडक हुँदै भोजपुरका स्थानीयसमेत आवतजावत गर्छन् ।
स्थानीयले उत्पादन गरेका खाद्यान्न, फलफूल तथा तरकारी बजारसम्म पुर्याउन पनि यही सडक प्रयोग गर्नुपर्ने बाध्यता छ । तर, सडकको दुरवस्थाका कारण कतिपयले आफ्ना उत्पादन डोको र बोरामा बोकेरै बजार पुर्याउनुपर्ने अवस्था छ ।
सडकको अवस्था खराब भए पनि साना सवारीसाधन तथा टेम्पोमा महँगो भाडा तिरेर यात्रा गर्नुपर्ने बाध्यता रहेको स्थानीय कपिलराज थापा बताउनुहुन्छ । उहाँका अनुसार पूर्वप्रधानमन्त्री स्वर्गीय सूर्यबहादुर थापाको जन्मस्थलसमेत रहेको मुगामा सडक सञ्जाललगायतका आधारभूत विकास निर्माणले अपेक्षित गति लिन सकेको छैन ।
मुगालाई राजनीतिक प्रभावशाली व्यक्तित्वहरूको जन्मस्थलका रूपमा समेत चिनिन्छ । पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा, उहाँका छोरा राष्ट्रिय सभा सदस्य सुनिलबहादुर थापा, प्रतिनिधिसभा सदस्य राजेन्द्रकुमार राई र प्रदेश सांसद इन्दिरा थापाको जन्मस्थल मुगा नै हो । तर, तीन दशक बितिसक्दा पनि सडक निर्माणले गति लिन नसकेको स्थानीयको गुनासो छ ।
लामो समयदेखि सडक बन्ने आशामा बसे पनि अब भने स्थानीयमा आशा हराउँदै गएको खेम घिमिरे बताउनुहुन्छ । हिउँदमा सामान्यतया साना सवारीसाधन सञ्चालन भए पनि सडकको अवस्था खराब हुँदा यात्रुले महँगो भाडा तिर्नुपरेको उहाँको भनाइ छ ।
सडकको दुरवस्थाका कारण भाडा महँगो लिनुपर्ने बाध्यता रहेको अटो चालकहरू बताउँछन् । पाख्रीबास नगरपालिका–७ स्थित राम्चेका अटो चालक जीवन तामाङका अनुसार सडकमा खाल्डाखुल्डी र अप्ठ्यारा घुम्तीका कारण सवारीसाधनमा बढी इन्धन खर्च हुने गरेको छ ।
गाडीको मर्मतसम्भारमा समेत धेरै रकम खर्च हुने भएकाले दैनिक कमाइले खर्च धान्नसमेत कठिन हुने गरेको उहाँ बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ, “बाटो खाल्डाखुल्डी भएर बिग्रिएका कारण दिनभरि कमाएको पैसा गाडीको मर्मतसम्भार र तेलमा नै सकिन्छ । सडक निर्माण भइदिए चालक र स्थानीय दुवैलाई सहज हुने थियो ।”
सडक कालोपत्रे नहुँदा पाख्रीबास नगरपालिका–४, ७ र ८ का स्थानीयले तीन दशकदेखि सास्ती खेप्दै आएका छन् । भोजपुरको हतुवागढी गाउँपालिकासँग जोडिने प्रमुख मार्गसमेत यही भएकाले सडकको दुरवस्थाले भोजपुरका बासिन्दालाई समेत प्रभावित बनाएको छ ।
स्थानीयले लामो समयदेखि सडक निर्माण र स्तरोन्नतिको माग गर्दै आए पनि समस्या समाधान हुन सकेको छैन । सडकको अवस्था सुधार नहुँदा आवागमन, कृषि उपजको ढुवानी र स्थानीय आर्थिक गतिविधिमा समेत प्रत्यक्ष असर परेको छ ।











