बिर्तामोड, १२ मंसिर : वडाको तल्लो तहमा रहेका खेल प्रतिभाको पहिचान र विकास गर्ने लक्ष्यसहित वडा खेलकुद विकास समिति बिर्तामोड-१ ले पहिलोपटक टोलस्तरीय कराँते र ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेको छ ।
खेलकुद प्रतियोगितालाई विविधता दिँदै समितिले कराँते र ब्याडमिन्टनलाई पनि समेटेको हो । यसअघि समितिले फुटबल र क्रिकेट प्रतियोगिता आयोजना गर्दै खेलाडीको प्रतिस्पर्धात्मक क्षमता विकासमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको थियो ।
प्रतियोगिताअन्तर्गत शनिबार वडा कार्यालयको सभाहलमा कराँते प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा बीटीएम कराँते स्पोर्ट्स प्रथम भएको छ । त्यसैगरी आयोजक टिम बिर्तामोड कराँते वडा डोजो दोस्रो र सीईएस टिम तेस्रो भएका छन् ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीमध्ये सुसंज्ञा गौतम र आयन कटुवाल बेस्ट फाइटर घोषित हुँदै पुरस्कृत भएका छन् ।
वडा अध्यक्ष अग्निप्रसाद पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न प्रतियोगितामा विभिन्न तौल समूहका विजयी खेलाडीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको छ । उनीहरूलाई वडा अध्यक्ष पाण्डे, अन्तर्राष्ट्रिय कराँते स्वर्ण पदक विजेता मीना पाठक, एमाले वडा कमिटी अध्यक्ष सुनिल शिवाकोटी, प्रदेश कमिटी सदस्य डम्बर बस्नेत, अधिवक्ता अर्जुनकुमार बस्नेत र नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपाने लगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका छन् ।
कार्यक्रममा बोल्दै नगरका प्रवक्तासमेत रहेका वडा अध्यक्ष पाण्डेले वडाका विभिन्न टोलमा छरिएर रहेका खेल प्रतिभाको पहिचान र विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए । उनले यस्ता प्रतियोगितालाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा वडा खेलकुद विकास समितिका उपाध्यक्ष सुष्मा कार्कीले स्वागत गरेकी थिइन् । कार्यक्रम समितिका कार्यवाहक अध्यक्ष पुष्प भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा वडासदस्य योगचन्द्र आङबोहाङ,कमला महरा दर्जी, टेकबहादुर अधिकारी, कराँते प्रशिक्षक मिना उप्रेती लगायत विभिन्न वडाका अध्यक्ष, प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।














